उपमहानगरपालिकाले राजश्व दरमा वृद्धि गरेपछि मकवानपुर उद्योग वाणिज्य संघ आन्दोलित
२८ श्रावण, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले लिने राजश्व दरमा वृद्धि गरेको विरोध जनाउँदै मकवानपुर उद्योग वाणिज्य संघ आन्दोलित बनेको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को लागि घरवाहल करदेखि विभिन्न व्यवसायमा लिंदै आएको राजश्वमा १६ देखि १ सय ५० प्रतिशतसम्म वृद्धि गरेपछि संघले विरोध जनाएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार नै सोमबार भएको व्यवसायी भेला एवम् पत्रकार सम्मेलनमा बोल्नुहुँदै संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले उपमहानगरले अनाधिकृत रुपमा राजश्वको दरमा बृद्धि गरेर व्यवसायीलाई थप धरासयी बनाउन खोजेको आरोप लगाउनुभयो । बढेको राजश्वको दरलाई तत्काल नबढाई यथास्थितिमा कायम गर्न पनि संघले माग गरेको छ ।
यसैगरी पत्रकार सम्मेलनमा बोल्नुहुदै अध्यक्ष अग्रवालले आफुहरुको आन्दोलन संघको चुनावी एजेण्डा नभएको समेत बताउनुभयो । उहाले व्यवसायीहरुको माग कुनै पनि किसिमको राजनीतिक पूर्वाग्रहबाट प्रेरित नभएको समेत स्पष्ट पार्नुभयो ।
अध्यक्ष अग्रवालले माग सम्बोधन नभएमा दोस्रो चरणमा सडक र न्यायिक दुबै ढंगबाट आन्दोलन गर्ने समेत चेतावनी दिनुभयो । आन्दोलनको कार्यक्रम अन्तर्गत मंगलबार बढेको कर नतिर्न व्यवसायीलाई आह्वान गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दलका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी मार्फत् संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने र बुधबार हस्ताक्षर संकलन गर्ने, हेटौंडा उपमहानगरपालिकामा १ घण्टा शान्तिपूर्ण धर्ना दिने, विभिन्न स्थानमा कालो व्यानर राखेर विरोध जनाउने निर्णय भएको छ । यस्तै बिहीबार हेटौंडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने तयारी भएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । शुक्रबार ¥यालीसहित स्वतस्फुर्त रुपमा व्यवसाय बन्द गरी उपमहानगरपालिकामा चावी बुझाउने संघको तयारी छ ।














