एसईईमा शतप्रतिशत नतिजा निकालेको शारदा मा.वि.ले खुशी मनाए
१६ असार, हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा निकालेको मकवानपुर गढी गाउँपालिका वडा नं. ५ स्थित शारदा माध्यमिक विद्यालयले खुशीयाली मनाएको छ ।
२०८१ सालको एसईईमा ग्रामीण भेगको अन्य विद्यालयको नतिजमा कमजोर भएको अवस्थामा शारदा माविबाट परीक्षा दिएका २५ जना सबै विद्यार्थी उत्तीण भएका हुन् । मंगलबार विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरू र अभिभावकहरूलाई माला लगाई सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पाँच वर्षे बहु–योजना बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले मकवानपुरगढीको समृद्धिको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई मानेर अघि बढिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष लामाले पाँच वर्षे योजनाको पहिलो वर्षमै शिक्षामा छलाङ मार्नुपर्ने लक्ष्य रहे पनि तत्कालीन समयमा त्यो सफल हुन नसकेको बताउनुभयो । तर निरन्तर प्रयास गर्दै जाँदा यस शैक्षिक वर्षमा उल्लेखनीय सफलता हासिल भएको भन्दै शारदा माध्यमिक विद्यालयको यस वर्षको शतप्रतिशत एसईई नतिजाले विद्यालयको नारा सकरात्मक सोच, उत्कृष्ट परिणामलाई पुष्टि गरेको उहाँको भनाई छ ।
उहाँले ए प्लस ल्याउने विद्यार्थी राजन नगरकोटीलाई नगद ११ हजार रुपैयाँ समेत प्रदान गर्नुभयो । त्यस्तै, अन्य २४ जना विद्यार्थीलाई २५ सय रुपैयाँका दरले नगद पुरस्कार गाउँपालिकाको तर्फबाट वितरण गरिएको हो । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशीले विद्यालयका सबै २५ जना विद्यार्थीलाई जनही २५ सय रुपैयाँका दरले छात्रवृत्तिका रूपमा नगद सहयोग दिने घोषणा गर्नुभयो ।
विद्यार्थीको सफलतामा अभिभावकको भूमिका महत्वपूर्ण रहेको भन्दै, कार्यक्रममा अभिभावकहरूलाई पनि माला लगाएर सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमपछि विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाहरूको सहभागितामा विजयी ¥याली निकालिएको थियो । ¥याली विद्यालयबाट सुरु भई गाउँका विभिन्न टोल परिक्रमा गर्दै पुनः विद्यालयमै समापन गरिएको थियो । गत वर्षको तुलनामा यस वर्षको नतिजा उल्लेखनीय रूपमा सुधार भएको छ ।














