ओपीडी सेवा ठप्प हुँदा बिरामीलाई सास्ती
१२ वैशाख, हेटौँडा । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मकवानपुरका स्वास्थ्य संस्थामा पनि ओपीडी सेवा ठप्प भएको छ ।
नेपाल चिकित्सक संघको आव्हानमा चिकित्सकहरु आन्दोलित भएसँगै हेटौंडा अस्पताल सहित मकवानपुरका अन्य अस्पतालमा आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित बनेको छ ।
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन गर्नूपर्ने माग सहित विगत केही दिनदेखि आन्दोलनमा रहेका चिकित्सकहरुले सरकारलाई दबाब दिन देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका हुन् । राज्यले चिकित्सकहरुको माग सम्बोधन नगरेका कारण ओपीडी सेवा बन्द गर्न बाध्य भएको चिकित्सक संघ मकवानपुरका अध्यक्ष हरी बहादुर खड्काले बताउनुभयो ।
यता, चिकित्सकहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी निराश हुँदै फर्कन बाध्य भएका छन् ।
चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त निर्णय निजी मेडिकल कलेजले कार्यान्वयन गर्न मानेका छैनन् । निर्णय कार्यान्वयन गराउन राज्यलाई दबाब दिने उद्देश्यले चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।














