ओम वृद्धाश्रममा आश्रित ९ जना नागरिकताविहीन
२५ असोज, हेटौँडा । हेटौंडा, २ चौकीटोलस्थित ओम वृद्धाश्रममा आश्रय लिइरहेका नौ जना जेष्ठ नागरिक नागरिकताविहीन अवस्थामा छन् ।
नागरिकता नहुँदा उनीहरू राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता, उपचार सेवा, र अन्य सुविधाबाट वञ्चित हुन पुगेका छन् । वृद्धाश्रमका अध्यक्ष सिदिलाल श्रेष्ठका अनुसार, धेरैजसोको स्थायी ठेगाना नभएको र आफन्तको पहिचान हुन नसकेको कारण नागरिकता बनाउन समस्या भएको छ । वृद्धाश्रमको १९ औं साधारण सभामा अध्यक्ष श्रेष्ठले वर्षौंदेखि आश्रममा बस्दै आएका जेष्ठ नागरिकले नागरिकता नपाउँदा उपचारदेखि सामाजिक सुरक्षा भत्तासम्म पाउन सकेका छैनन् ।

हाल वृद्धाश्रममा २३ जना जेष्ठ नागरिक बस्दै आएका छन्, जसमध्ये नौ जना नागरिकताविहीन छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नागरिकता अभावमा रहेका जेष्ठ नागरिकलाई कानुनी व्यवस्था अनुसार नागरिकता प्रदान गरिने बताउनुभयो । कानुन बमोजिम नागरिकता प्रदान गर्न कुनै कन्जुस्याइँ नगरिने उहाँले बताउनुभयो । वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकको हकहितको सम्र्वद्धन, प्रवद्र्धन र विकासका लागि वृद्धाश्रमको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले सबैको साथ सहयोग अनिवार्य रहेको धारणा राख्नुभयो ।
उक्त अवसरमा वृद्धाश्रमको नया ६ जना आजीवन सदस्य र आश्रमलाई आर्थिक सहयोग गर्ने दाताहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । करिब सात कठ्ठा क्षेत्रफलमा फैलिएको वृद्धाश्रममा तीन वटा भवनमा सामान्य र सुविधा सम्पन्न गरि कुल ३२ वटा कोठा रहेका छन् । हालसम्म ९२ जनाले यस वृद्धाश्रममा आश्रय लिइसकेका छन् । साधारण सभामा अध्यक्ष श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष फनेन्द्र तिमल्सिनाले आर्थिक प्रतिवेदन पेस गर्नुभयो । कार्यक्रममा २ नम्बर वडाका सदस्य सुरज वर्तौला, जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष हरिप्रसाद सिग्देल लगायतले मन्तव्य राखेका थिए ।














