ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले
१९ चैत्र, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढंगले बन्दी बनाइएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकको प्रारम्भमा बोल्दै सांसद गुरु बरालले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको पक्राउ असंवैधानिक भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकार स्वयंले संविधानविरोधी गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले संविधानमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने तथा समानताको हक रहेको भन्दै नेताद्वय ओली र लेखकलाई तत्काल रिहाई गर्न माग गर्नुभयो ।
उहाँले आन्दोलनको क्रममा एमाले सांसदहरु राज्य दमनबाट घाइते भएको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई संविधानअनुसार चल्न ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज देशमा संविधानको खिलाप गतिविधिहरु भइरहेका छन् । संविधानमा हरेक नागरिकले सम्मानपूर्वक बाँच्न, पाउने र समानताको हक प्रदान गरेको छ । सभामुखज्यूमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ असंवैधानिक छ ।’
उहाँले आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्न समेत सरकारसँग माग गर्नुभयो ।














