कक्षा ८ सम्म नैतिक शिक्षालाई समावेश गर्नुपर्छः मुख्यमन्त्री बानियाँ

संवाददाता
१४ भाद्र २०८२, शनिबार १७:२७

१४ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पछिल्लो समय नैतिक शिक्षाको महत्व बढ्दै गएको बताउनुभएको छ ।
संघीयता प्रति देखिएको नकारात्मक भाष्यलाई चिर्न नैतिक शिक्षा जरुरी देखिएको उहाँको भनाई छ । नेपाल स्काउट, बागमती प्रदेश स्काउट, महेन्द्र मावि र स्थानीय स्काउट हेटौडा १३ को संयुक्त आयोजनामा सुरु भएको ५ दिने स्काउट ओ–रामा फेष्टिवल क्याम्प २०८२ कार्यक्रममा मुख्यमन्त्री बानियाँले कक्षा ८ सम्म नैतिक शिक्षालाई समावेश गर्न पनि स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
नकारात्मक कुराहरुलाई सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने गतिविधि समाजमा बढ्दै गइरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले समाजलाई गतिशिल र प्रगतिशिल बनाउन अहिलेको व्यवस्था ल्याएको जिकिर गर्नुभयो । उहाँले लामो संघर्षबाट प्राप्त भएको व्यवस्था प्रति गलत भ्रम पैmलाउनेहरुलाई धैर्यवान भएर परिणामबाट जवाफ दिनुपर्ने बताउनुभयो । नयाँ पुस्तामा व्यवस्था प्रति रहेको वितृष्णलाई चिर्ने जिम्मेवारी नेतृत्ववर्गहरुको भएको उहाँको भनाई छ ।
मुख्यमन्त्री बानियाँले संघीयता आइसकेपछि पदमपोखरीको स्वरुप नै फेरिएको बताउनुभयो । आजको पदमपोखरी विगतको जस्तो नभएको उहाँले बताउनुभयो । प्रदेश राजधानीलाई व्यवस्थित र विश्वासनीय बनाउन पनि पदमपोखरीले भुमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । स्काउट ओ–रामा फेष्टिवल क्याम्प भाद्र १७ गते सम्म चल्ने छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*