कर्मचारी प्रशासन संक्रमणको स्थितिमा छः प्रमुख सचिव कार्की

संवाददाता
२२ भाद्र २०८१, शनिबार १३:२६

२२ भाद्र, हेटौँडा । बागमती प्रदेश सरकारका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले कर्मचारी प्रशासनमा संक्रमण रहेको बताउनुभएको छ ।
संक्रमणको अवधि कहिलेसम्म रहने थाहा नहुँदा कर्मचारी प्रशासनमा द्विविधा रहेको उहाँको भनाई छ । निजामती सेवा दिवस २०८१ को अवसरमा प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा बोल्नुहुँदै प्रमुख सचिव कार्कीले संघीय प्रणाली लागु भएको ७ वर्षको अवधिमा पनि संघीय निजामती ऐन आउन नसक्नु दुःखद भएको बताउनुभयो । प्रदेश सरकारले बनाएका निजामती ऐनसंग हाल कार्यान्वयनमा रहेका संघीय ऐन बाँझिदा सार्वजनिक प्रशासन सेवामा प्रत्यक्ष असर पुगेको उहाँको भनाई छ ।
प्रमुख सचिव कार्कीले उच्च राजनीतिक तहमै निजामती ऐन ल्याउन ढिलाई भएको महसुस भएकोले छ्टिटै ऐन आउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले ऐन आएपछि अहिले देखिको अन्यौलता हट्ने विश्वास व्यक्त गर्दै निजामती सेवामा निरन्तर सुधार आवश्यक भएको बताउनुभयो ।
प्रमुख सचिव कार्कीले कर्मचारी तन्त्रको कुनै विकल्प नभएको समेत बताउनुभयो । उहाँले सुधारिएको कर्मचारी तन्त्र नै कर्मचारी तन्त्रको उपयुक्त विकल्प भएको धारणा राख्नुभयो । उहाँले सेवा प्रवाह र कानुन निर्माणमा निजामती कर्मचारीहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । कर्मचारीहरुले सुधारको प्रयत्न अरुबाट भन्दा पनि आफैबाट गर्नुपर्ने उहाँको भनाई छ ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निजामती कर्मचारीले नागरिक मैत्री र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । कर्मचारीले सुशासनमा ध्यान दिन नसकेको, सिर्जनशील हुन नसकेको भन्ने आरोपलाई खण्डन गर्दै कर्मचारी प्रशासनले सिर्जनशील भएर पेशागत व्यवसायिकतालाई अभिवृद्धि गर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाई छ ।
व्यावसायिक र सिजनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ मनाइएको निजामती सेवा दिवस २०८१ का अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सानुबाबु खनाल, रुद्रप्रसाद शर्मा र गोपिनी गौतमलाई पुरस्कृत समेत गरिएको थियो । यसअघि भुटनदेवी माविको चौरबाट सुरु भएको प्रभात फेरी प्रदेश सुशासन केन्द्रको तालिम हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*