कर सप्ताह कार्यक्रम २०८० को अवसरमा सञ्चारकर्मीसँग अन्तरक्रिया
५ मंसिर, हेटौँडा । आन्तरिक राजश्व कार्यालय हेटौंडाले राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० को सन्दर्भ पारेर सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा कार्यालयका कर अधिकृत गुणराज घिमिरेले कर सम्बन्धी विविध जानकारी दिनुभएको थियो । मूल्य अभिबृद्धि कर, स्थायी लेखा नम्बर, आयकरको दर, मूल्य अभिबृद्धि करमा जादाँ हुने फाइदा, ईटीडिएस भनेको के हो ? करपाटीका प्रकार, दण्ड र जरिवाना लगायतका बिषयका जानकारी गराउनुभएकोे थियो । कुनै व्यक्तिले कुल परम्परा एवं संस्कृतिका लागि निजि उपयोग गर्न एक पटकमा ५ लिटर सम्म रक्सी र दश लिटर सम्म जाँड उत्पादन गर्दा इजाजतपत्र बनाउन नपर्ने कार्यालयले जनाएको छ । मूल्य अभिवृद्धि कर लागु भएको दिनको अवसर पारेर मंसिर १ गतेदेखि सप्ताहव्यापी राष्ट्रिय कर दिवस मनाईदै आएको छ । स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय,आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ यस वर्ष कर सप्ताह मनाईदैछ । कार्यालयले सप्ताहव्यापी कार्यक्रमको समापनका दिन मंसिर ७ गते उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरिने प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले बताउनु भयो । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को तीन महिनामा लक्ष्यको ७५ दशमलब ७१ प्रतिशत राजस्व असुली गरेको छ ।














