काँग्रेसलाई रास्वपाको जवाफः अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले बिरोध गरिहेको छ
२४ चैत्र, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले काँग्रेसका युवा नेताहरुले बिरोध गरिरहेको आरोप लगाउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले लोकतन्त्र सिकाउन खोज्ने काँग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले काँग्रेसका युवा नेताहरुलाई आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको आरोप लगाउनुभयो । मन्त्री अर्यालले देशको नेतृत्व गर्न नपाउने छटपटिमा काँग्रेसका युवा नेताहरु तड्पिएको टिप्पणी गर्नुभयो । उहाँले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न काँग्रेसलाई आग्रह गर्नुभयो ।
मन्त्री अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक÷दुई लाख रुपैयाँसम्म दिने बताउनुभयो । उहाँले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको स्पष्ट पार्नुभयो । मन्त्री अर्यालले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी गर्नुभयो ।
श्रममन्त्री अर्यालले कुनैपनि दिन देशको कानूनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको बताउनुभयो ।














