खेलकुद मन्त्रीले नै गरे सरकारी कोषको दुरुपयोग, आफ्नै भाईलाई दिए अवार्ड
५ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफ्नै भाइ बिनोद महर्जनलाई उत्कृष्ट जिल्ला अध्यक्षको अवार्ड दिएर सरकारी कोषको दुरुपयोग गरेका छन् ।
मन्त्री बनेपछि आफैले नियुक्त गरेका भाइलाई बागमती प्रदेशका १३ वटा जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष मध्य उत्कृष्ट चयन गर्न उनले आफु निकट उपसमिती बनाएका थिए । जिल्ला अध्यक्ष चयन हुंदै बिनोद महर्जनले नगद ५० हजार राशी पाएका छन् । मन्त्री महर्जनकै निर्देशनमा यो बिधा अवार्डमा राखीएको मन्त्रालय श्रोतले बताएको छ । महर्जन नियुक्ती भएको ६ महिनापनि भएको छैन । उनले छोटो समयमै उत्कृष्ट कार्य गरेको विवरण मन्त्रालयले दिन सकेको छैन । त्यति मात्र होईन मन्त्री महर्जनले राष्ट्रिय खेलाडी सम्मान कार्यक्रमलाई राजनीतिकरण गरेका छन् ।
यो कार्यक्रममा सत्ता समिकरणमा रहेका एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाईएन । मन्चमा कांग्रेस निकट मन्त्री र कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियांलाई अतिथी बनाईएको थियो । बागमती प्रदेश सरकारले हेटौंडाको हुप्राचौरमा खुल्ला मैदानमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएका सांगितिक कार्यक्रम सान्दर्भिक नभएको सर्बसाधारणको बुझाई छ । मन्त्रालयको आयोजनामा भएको कार्यक्रम ब्यबस्थित तरिकाबाट संचालन नहुंदा बागमती प्रदेश सरकारकै गरिमामा आंच आएको चर्चा चलिरहेको छ ।
राष्ट्रका लागि योगदान दिने खेलाडीको सम्मानमा राष्ट्रियता झल्काउने सांगितीक प्रस्तुतीको अपेक्षा विपरित प्रस्तुत भएका कार्यक्रमले मन्त्रीकै अपरिपक्वता झल्काएको छ । मन्त्रालयका अधिकारीहरु समेत यो कार्यक्रमबाट सन्तुष्ट छैनन् । मन्त्री महर्जन र उपसमिती संयोजक दिपक श्रेष्ठको तयारीमा कार्यक्रम भएको हो ।
युथ समिट सहित बागमति प्रदेश खेलकुद अबार्डका लागि ३६ लाख बजेट राखिएको छ । युबा तथा खेलकुद मन्त्रालयले छुट्याएको १६ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयबाट माग गरिएको २० लाख रकमबाट कार्यक्रम आयोजना गरिएको हो ।














