खेलाडीको सम्झनामा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनुपर्छः जिसस प्रमुख घलान

संवाददाता
२० आश्विन २०८१, आईतवार १४:४३

२० असोज, हेटौंडा । जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित बहादुर घलानले सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका खेलाडीको सम्झनामा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।
पुत्र वियोगमा रहनुभएका जिसस प्रमुख घलानले खेलाडीको स्मृतिमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न सके उनीहरुप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो ।
समवेदनाका लागि उहाँकै निवास हेटौंडा–१२ पुगेका मकवानपुरका सञ्चारकर्मीसँग कुरागर्दै प्रमुख घलानले खेलाडीको आत्माको शान्तिका लागि पनि प्रतियोगिता सञ्चालन आवश्यक रहेको धारणा राख्नुभयो । एन्फाले क्यालेन्डर नै बनाएर अन्डर १३ वा अन्डर १४ प्रतियोगिता सञ्चालन गरि बालखेलाडी उत्पादन गर्न सके राष्ट्रकै लागि राम्रो हुने उहाँले बताउनुभयो ।
खेलका माध्यमबाट देशको नाम चिनाउन यस क्षेत्रमा लागेका खेलाडीको मृत्यु अपुरणिय रहेको बताउँदै प्रतियोगिता सञ्चालन गर्दा उनहिरुमाथि न्याय हुने उहाँको भनाई छ ।
जिसस प्रमुख घलानका पुत्र अनुपम घलान सहित फुटबल प्रशिक्षणमा रहेका ६ जना खेलाडीको असोज १२ गते आएको पहिरोमा पुरिएर मृत्यु भएको थियो । उनीहरु इन्द्रसरोवर– ३ स्थित वत्सलादेवी माविमा अध्ययनसँगै फुटवल प्रशिक्षणमा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*