घरेलु मदिरा उत्पादन उद्योगमा मकवानपुर प्रहरीको छापा, ४ जना पक्राउ

संवाददाता
२९ चैत्र २०८२, आईतवार १८:१६

२९ चैत्र, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलस्थित अवैध रूपमा सञ्चालन गरिएको घरेलु मदिरा उत्पादन उद्योगमा छापा मार्दै ठूलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ ।
प्रहरीले उक्त स्थानबाट ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । शनिबार विशेष सूचनाका आधारमा प्रहरी टोली चौकिटोलस्थित जगत बहादुर घिसिङको जस्ताले बनेको घरमा पुगेको थियो । त्यहाँ घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले खानतलासी तथा छापा कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
छापाका क्रममा घरेलु मदिरा भट्टी सञ्चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल बस्ने अन्दाजी ६० वर्षीय जगत बहादुर घिसिङलाई नियन्त्रणमा लिइएको छ । साथै सोही भट्टीमा काम गरिरहेका अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय सुजन तामाङ, बारा जिल्लाको कोल्बी नगरपालिका वडा नम्बर ८ बस्ने १९ वर्षीय अजय लामा तथा चितवनकै कालिका नगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षीय सुरेश प्रजा रहेका छन् । उक्त स्थानबाट करिब ४ हजार लिटर तयारी अवस्थामा रहेको घरेलु मदिरा बरामद गरेको प्रवक्ता बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार मदिरा उत्पादनका लागि प्रयोग गरिने करिब ५ हजार लिटर कच्चा पदार्थसमेत फेला परेको छ । तयारी मदिरा र कच्चापदार्थ भने नष्ट गरिएको छ ।
त्यसैगरी प्रहरीले मदिरा उत्पादनमा प्रयोग गरिएका ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टी चुलो, २ बोरा चामल तथा ठूलो संख्यामा प्लास्टिकका ड्रम र बोतलहरू पनि बरामद गरेको छ । बरामद गरिएका सामग्रीहरू नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको छ । मकवानपुर प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*