चार्जिङ स्टेशन निर्माण गर्न खोज्दा स्थानीयबाट अवरोध भयोः दामोदर अधिकारी

संवाददाता
२८ जेष्ठ २०८२, मंगलवार १८:४२

२७ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का दामोदर अधिकारीले चार्जिङ स्टेशन निर्माण गर्न खोज्दा स्थानीयले अवरोध गरेको बताएका छन् ।
आवश्यक कानूनी रूपमा सबै प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्नलाग्दा स्थानीयले हैरानी दिएको मंगलबार पत्रकार सम्मेलन गर्दै गुनासो गर्नुभयो । १० वर्ष जापानमा बसेर नेपाल फर्किएका अधिकारीले नेपालमै व्यवसाय गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन सञ्चालन गर्न लागेका थिए । आवश्यक सबै कानूनी प्रक्रिया पूरा गरे पनि स्थानीयले विद्युत् लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अवरोध पु¥याएको अधिकारीले बताउनुभयो ।
चार्जिङ स्टेशन सञ्चालनमा आए बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले पोल गाड्न गएका कर्मचारीलाई रोकेका थिए । स्थानीयले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् भने थप ट्रान्समिटर विस्तार गर्न अनुमति दिएको भन्दै नेपाल विद्युत् प्राधिकरणविरुद्ध अख्तियारमा समेत उजुरी दर्ता गरेको अधिकारीले बताउनुभयो । विद्युत् प्राधिकरणले अध्ययन गरेर नै अनुमति दिएको र चार्जिङ स्टेशन सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको अधिकारीको दाबी छ ।
डेढ करोड लगानीमा पार्क र रिसोर्टसहितको चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन लागेका अधिकारीले हालसम्म २० लाख रुपैयाँ खर्च गरिसक्नुभएको छ । आफ्नै जग्गामा पूर्वाधार निर्माण गर्न लाग्दा पनि स्थानीयले कुरा नबुझेको उहाँको आरोप छ । नेपालमा लगानीमैत्री वातावरण नबनेको भन्दै अधिकारीले दुख व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*