चितवनमा बस र माइक्रो ठोक्किदा ७ जनाको मृत्यु
७ असार, हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
१८ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये दुई जनाको मात्रै पहिचान भएको छ । मृत्यु हुनेमा मकवानपुरका हटियाका ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् ।
पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ ज २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो । घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरुलाई भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको हो । तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिनुभएको छ । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।














