चितवन जिल्लाका लागि छनौट भएका ५० जना विद्यालय नर्सको अभिमुखीकरण कार्यक्रम सम्पन्न
२२ श्रावण, हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३ सय २९ जना विद्यालय नर्स थप गरेको छ ।
रिक्त रहेका ८२ विद्यालय सहित विद्यालय नर्स कार्यक्रमका लागि छनौट भएका थप नयाँ विद्यालयका लागि ३ सय २९ नर्स थप गरेको हो । मंगलबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले लिखित तथा अन्तवार्ता परिक्षा उत्तीर्ण गरेका नर्सको अभिमुखिकरण तथा करार सम्झौता कार्यक्रम गरेको छ । पहिलो चरणमा चितवन जिल्लाका लागि छनौट भएका ५० जना विद्यालय नर्सको करार सम्झौता भएको छ । साउन २६ गते सम्ममा क्रमैसँग प्रदेशका सबै जिल्लाका छनौट भएका विद्यालय नर्ससँग सम्झौता गरिने निर्देशनालयका प्रवक्ता सतिस विष्टले बताउनुभयो ।
हाल ५ सय १९ माध्यमिक विद्यालय नर्सिङ सेवा कार्यक्रममा छनौट भएपनि ८२ विद्यालयमा नर्स रिक्त रहेका थिए । प्रवक्ता विष्टका अनुसार थप गरिएका विद्यालय सहित बागमती प्रदेशका ८ सय ४८ विद्यालयमा यो कार्यक्रम लागू हुनेछ । सबैभन्दा धेरै काठमाडौं जिल्लाका १ सय ८ विद्यालयमा विद्यालय नर्स सेवा लागू भएको छ । मकवानपुर जिल्लामा यस वर्ष १८ विद्यालयमा विद्यालय नर्स कार्यक्रम बिस्तार भएको छ । यसअघि मकवानपुरका ४४ विद्यालयमा कार्यक्रम लागू भएको थियो । सबैभन्दा कम रसुवाका १८ विद्यालयमा नर्स नियुक्त गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका १ सय १९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । बागमती प्रदेश २०७५ बाट एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा आएको हो । कक्षा १२ सम्म सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा यो कार्यक्रम लागू गर्ने तयारी छ ।














