जलेको भवनको सिँढीमै बसेर अत्यावश्यक काम गर्दै

संवाददाता
२९ भाद्र २०८२, आईतवार १६:५२

२९ भाद्र, हेटौँडा । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आफ्नै जलेको भवनको सिँढीमै बसेर अत्यावश्यक काम गर्न थालेको छ ।
हेटौँडा–१० मा रहेको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको संयुक्त भवन पूर्णरूपमा क्षतिग्रस्त बन्दा काम गर्ने स्थान नभएपछि सिँढीबाट अत्यावश्यक काम थालिएको हो । भवनभित्र रहेका महाशाखा तथा शाखाका कागजपत्र, अभिलेख र कार्यालय सामग्री जलेर नष्ट भएपछि प्रशासनिक काम ठप्प भएको छ ।
आइतबार दिनभर मन्त्रालयका कर्मचारीहरू जलेर बाँकी रहेका कागजात बाहिर निकाल्ने, धुलाम्य भएका कोठा, फुटेका सिसा निकाल्ने, सफा गर्ने र संरचनागत क्षतिबारे मूल्याङ्कन गर्ने कार्यमा व्यस्त रहेका थिए । आगलागीबाट सामाजिक विकास मन्त्री र स्वास्थ्य मन्त्री दुवैको कार्यकक्ष प्रयोग अयोग्य भएको छ ।


सामाजिक विकास मन्त्रीको कार्यकक्ष काम चलाउने अवस्थामा छैन भने स्वास्थ्य मन्त्रीको कार्यकक्ष पूर्णरूपमा जलेर ध्वस्त भएको छ । मन्त्रालयको कम्पाउण्डभित्र रहेका १४ वटा सवारीसाधन पनि जलेर नष्ट भएका छन् । मुख्यमन्त्री कार्यालयका एउटा , प्रदेश सभाका ३ वटा , सामाजिक विकास मन्त्रालयका ५, स्वास्थ्य मन्त्रालयका ३, शिक्षा विकास निर्देशनालयको १ र युएस परियोजनाका एउटा सवारी जलेको सामाजिक विकास मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।
दुबै मन्त्रालयका अधिकांश कार्यकक्ष जलेका छन् । सामाजिक विकास मन्त्रालयको प्रशासनिक शाखाको केही रेकर्ड मात्रै सुरक्षित रहेको बाँकी बाँकी सबै अभिलेख नष्ट भएको सचिव दर्निले बताउनुभयो । मन्त्रालयसँगै रहेको प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालयसमेत आगलागीमा जलेर पूर्णरूपमा ध्वस्त भएको छ । त्यहाँ रहेका सबै फर्निचर, अभिलेख र उपकरण नष्ट भएको सचिव दर्जीले बताउनुभयो । भवन र कागजात दुवै क्षतिग्रस्त भएकाले तत्कालै कहाँ बसेर काम गर्ने भन्ने समस्या भएको सचिव दर्जीले बताउनुभयो ।
भदौ २४ गतेको आन्दोलनका कारण बागमती प्रदेशका १४ मन्त्रालय मध्य ९ वटा मन्त्रालय पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*