ज्ञानदीप शिक्षा निकेतनमा शैक्षिक अन्तरक्रिया
२९ वैशाख, हेटौँडा । हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा निकेतन माविले कक्षा–८, ९ र १० विशेष अभिभावक शिक्षा एवम् शैक्षिक अन्तरक्रियाको आयोजना गरेको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राजेश घिमिरेको प्रमुख आतिथ्यमा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अर्पण पराजुलीले सहजीकरण गर्नुभएको कार्यक्रममा बालबालिकाको चौतर्फी विकासका लागि अभिभावकले बालबालिकालाई नजिकबाट बुझ्नुपर्ने र पर्याप्त समय दिनुपर्ने विषयमा जोड दिइएको थियो । अन्तरक्रियामा अभिभावकले विद्यालयका सवल पक्षबारे प्रशंसा गर्दै अझै राम्रो गर्नका लागि रचनात्मक सुझावहरू समेत दिएका थिए । अन्तरक्रियामा करिब २०० जना अभिभावकको उपस्थिति रहेको थियो ।
विद्यालयको नियमित मासिक अभिभावक अन्तरक्रिया कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०८२ को पहिलो तहगत अन्तरक्रिया आयोजना गरिएको र आगामी दिनमा नियमित रूपमा अभिभावक अन्तरक्रिया आयोजना गर्दै जाने समितिकी अध्यक्ष सापकोटाले बताउनुभयो ।














