ट्राफिक शिक्षक प्रशिक्षण प्रदान
८ असार, हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका लागि ट्राफिक शिक्षक प्रशिक्षण प्रदान गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकलाई प्रशिक्षण दिएको हो । उपमहानगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख लामाले हेटौंडामा २५ मिटर सडक विस्तार अब छिट्टै हुने बताउनुभयो ।
सडक विस्तार योजनाकै कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको बताउँदै २५ मिटर विस्तारपछि ट्राफिक टा«फिक व्यवस्थापन चुस्त रुपमा हुने बताउनुभयो । हेटौंडा नगर क्षेत्रको ४ किलोमिटरमा मुआब्जा विवाद रहेको बताउँदै अन्यायमा परेकालाई मुआब्जा दिएर भएपनि सडक विस्तार कार्य सुरु गरिने उहाँले बताउनुभयो । नगर प्रमुख लामाले आगामी नीति कार्यक्रम तथा बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभयो । आगामी आर्थिक वर्षमा मेगा विद्यालय कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो।

यसैगरी प्रदेश प्रहरी प्रमुख डिआईजी अरुण पौडेलले शिक्षक ट्राफिक कार्यक्रमलाई बागमती प्रदेशको नमूना कार्यक्रमका रूपमा हेरिएको बताउनुभयो । देशभर नै सवारी दुर्घटनाको आँकडा हेर्दा भयावह बन्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । देशको बाटोघाटोको अवस्था, ट्राफिक नियमको पालना नगर्दा, लागू पद्धार्थ सेवन, तीव्र रूपमा सवारी चलाउँदा दुर्घटना बढेको उहाँले बताउनुभयो । आफूले सिकेका ज्ञान परिवार र समाजमा फैलाउने हुँदा विद्यार्थीलाई सवारी नियम, ट्राफिक सचेतना दिने उद्देश्यले शिक्षकलाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले वर्तमान पैदलयात्री भोलिका सवारी चालक बन्ने भएकाले कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिका लक्षित कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताउनुभयो । प्राकृतिक प्रकोप रोक्न नसकिएपनि सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको धारणा थियो ।
कार्यक्रममा ट्राफिक विद्यालय समन्वयकर्ता कञ्चन शर्मालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । गत आर्थिक वर्षमा मकवानपुरमा ३ सय ७१ सवारी दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी प्रमुख बच्चुराम फुयाँलले जानकारी दिनुभयो । प्रशिक्षणमा हेटौंडा उपमहानगरभित्रका संस्थागत र सामुदायिक गरी १ सय २० वटा विद्यालयका प्रतिनिधि शिक्षकको सहभागिता रहेको थियो ।














