ढुवानी कर प्रणालीको प्रभावकारी कार्यान्वयनको माग
८ जेठ, हेटौँडा । देशभरका पुराना तथा जीर्ण पुलहरूको मर्मत, राजमार्ग सुरक्षा, सवारीको भारवहन क्षमता नियन्त्रण र ढुवानी कर प्रणालीको प्रभावकारी कार्यान्वयनको माग गर्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.ले सरकारसँग ध्यानाकर्षण गराएको छ ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका अध्यक्ष गोकर्ण पराजुलिले प्रेस विज्ञप्ति सार्वजनिक गर्नुभएको हो । देशभर धेरै पुलहरू जीर्ण अवस्थामा रहेका कारण सवारी सुरक्षामा गम्भीर जोखिम देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ती पुलहरूको परीक्षण गरी आवश्यकता अनुसार मर्मत, स्तरोन्नति वा पुनर्निर्माण कार्य तत्काल अघि बढाउन कम्पनीले आग्रह गरेको छ ।
त्यस्तै, तोकिएको भारवहन क्षमताभन्दा बढी सामान बोकेर चल्ने सवारी साधनहरूलाई कडाइका साथ नियमन र कारबाही गर्नुपर्ने अध्यक्ष पराजुलीले बताउनुभयो । सडक र पुलमा बढी भार परेको कारण धेरै दुर्घटना र संरचनागत क्षति भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । हाल देशभर निजी क्षेत्रबाट ११ र सरकारद्वारा २ वटा गरी १३ वटा तौलपुल सञ्चालनमा भए पनि ती तौलपुलहरूबाट भार नियन्त्रणमा अपेक्षित प्रभावकारिता देखिएको छैन । यसरी नियमन कमजोर हुँदा सवारी सुरक्षामा चुनौती थपिएको समेत कम्पनीले बताएको छ ।
त्यसैगरी, ढुवानी क्षेत्रमा मूल्य अभिवृद्धि कर सरकारले पूर्णरूपमा लागू गरे पनि कार्यान्वयन प्रभावकारी नहुँदा बिना भ्याटमा सामान ढुवानी हुने प्रवृत्ति बढ्दै गएको अध्यक्ष पराजुलीले बताउनुभयो । राजमार्ग सुरक्षालाई प्राथमिकतामा राख्दै कम्पनीले भासिने, चर्किने वा क्षतिग्रस्त सडक तथा पुलहरू तत्काल मर्मत गरी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न माग गरेको छ । साथै, सवारी चालक र व्यवसायीहरूलाई भारवहन क्षमता सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा कम्पनीले जोड दिएको छ ।
पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारिणी संचालक माधव अधिकारी, संचालकहरु खैमराज काफ्ले, हरि राउत, हिराकाजी श्रेष्ठ लगाएत व्यवसायि तथा कर्मचारीहरुकौ उपस्थिती रहेको थियो ।














