तीन तले महिला प्रहरी ब्यारेकको उद्घाटन

संवाददाता
१० बैशाख २०८२, बुधबार १७:२१

१० वैशाख, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा निर्माण गरिएको सुविधा सम्पन्न महिला प्रहरी ब्यारेक भवनको बुधबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी प्रमुख कृष्णहरी शर्माले संयुक्त रुपमा भवन उद्घाटन गर्नुभएको हो । तीन तले उक्त ब्यारेक भवन कुल एक करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले बागमती प्रदेश सरकारले बागमती प्रदेश प्रहरी मातहत १० जिल्लामा ७१ वटा प्रहरी इकाइ निर्माणका लागि लगानी गरिसकेको जानकारी दिनुभयो । तीमध्ये ६९ वटा प्रहरी भवन निर्माण सम्पन्न भई सम्बन्धित कार्यालयलाई हस्तान्तरण भइसकेको उहाँले बताउनुभयो । मन्त्री लामिछानेले प्रहरी सेवा र पूर्वाधारमा कमी नहोस् भनेर प्रदेश सरकारले २०७५ सालदेखि निरन्तर लगानी गर्दै आएको बताउनुभयो ।
उहाँका अनुसार, हालसम्म प्रदेश सरकारले नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणमा ३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ लगानी गरिसकेको छ । चालु आर्थिक वर्षमा मात्रै १८ वटा प्रहरी भवन निर्माणका लागि १० करोड ४४ लाख रुपैयाँ तथा भवन संरचनागत सुधारतर्फ थप तीन करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।
मन्त्री लामिछानेले मकवानपुरको हटियामा निर्माण हुने बागमती प्रदेश प्रहरी अस्पताललाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । संघीयता कार्यान्वयनको सन्दर्भमा प्रहरी सम्बन्धी अधिकार अझै स्पष्ट रूपमा प्रदेशलाई नदिइएकोप्रति मन्त्री लामिछानेले असन्तुष्टि जनाउँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल प्रहरीको क्रियाशिलता र सेवा प्रवाहमा कमी नहोस् भनेर प्रदेश सरकारले लगानी गरिरहेको बताउनुभयो ।
संविधानमा व्यवस्था भए अनुरुपको अधिकार प्रत्योजन तथा संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश प्रहरी सम्बन्धमा गम्भिर हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाही, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*