थाहा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
७ असार, हेटौँडा । थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
नगरपालिकाको १८ औं अधिवेशनबाट नीति तथा कार्यक्रम पारित भएको हो । शनिबार नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको हो । नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा नेपाल सरकारले विश्व सामु सन् २०३० सम्ममा पुरा गर्ने गरी प्रतिवद्धता जाहेर गरेका १७ वटा दिगो विकासका लक्ष्यसँग सामञ्जस्य हुने गरि कार्यक्रमहरुको तर्जुमा गरिएको नगर प्रमुख विष्टले बताउनुभयो ।
नगरपालिकालाई आर्थिक सम्पन्न गराउने प्रति केन्द्रित हुँदै अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन स्वरुप कृषि बस्तुको प्रमाणीकरण र ब्राण्डिङ्ग गरी बजारीकरण गर्न सहजिकरण गर्नेमा जोड दिइएको छ । त्यसका साथै फलफूल, तरकारी, मासु, अण्डा, दुध, किबी लगायतका खेतीलाई प्रोत्साहन गरी नगरलाई आत्मनिर्भर बनाउने नीति नगरपालिकाले लिएको छ ।
त्यसैगरी खाद्य सुरक्षालाई ध्यानमा राखि धान र मकैको उत्पादन बढाउन हाइब्रिड धान र मकैको बीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने भनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पशु विकासतर्फ दुहुना गाई, भैंसी र बाख्रा पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरी जिल्लाकै सबैभन्दा अग्लो ठाउँ सिमभञ्ज्याङमा च्याङग्रा÷पाण्डा पालनको सम्भाव्यता बारे अध्ययन गरि च्यांङग्रा पालन शुरु गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।
पर्यटन विकासतर्फ पालिकाको पर्यटन रणनीति गुरुयोजनाको समिक्षा गरि नयाँ रणनीतिहरु निर्माण गरि कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ । सहकारी मार्फत वित्तीय सेवाको पहुँच विस्तारका लागि वित्तीय साक्षरता, सहकारी सदस्य शिक्षा तथा सहकारीको संस्थागत विकासका लागि आवश्यक तालिमको व्यवस्था गरी सहकारीलाई मर्यादित बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
एकल महिला, अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसाय दर्तामा २० प्रतिशतले छुट र महिला, दलित, सिमान्तकृत समुदायबाट सञ्चालित व्यवसाय दर्तामा १० प्रतिशतले छुट प्रदान गरिने भएको छ ।
नागरिको स्वास्थ्यलाई ध्यान दिंदै नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न दीर्घरोगीहरुलाई घरघरमा औषधी पु¥याउने तथा स्वास्थ्य परिक्षणको व्यवस्थापन गर्ने र निःशुल्क आधारभूत स्वास्थ्य सेवामा आम नगरबासीको सुलभ र सरल पहुँचको व्यवस्थामा थप सुधार गर्न अत्यावश्यकीय औषधी तथा उपकरणको अभाव हुन नदिने व्यवस्था नगरपालिकाले मिलाउने घोषणा गरेको छ ।
नगरपालिकाले शिक्षाको विकासतर्फ शिक्षा क्षेत्रलाइ सर्वसुलभ र गुणस्तरी शिक्षाको अवधारणा अघि बढाइने घोषणा गरेको छ । नगरपालिकाले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ‘ल्याउने, सिकाउने र टिकाउने’ कार्यलाई प्रोत्साहनमूलक कार्यक्रम सहित अभियान सञ्चालन गर्नेछ ।
नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको कुन्छाल–कुलेखानी सडक कालोपत्रे, थाहा बसपार्क, थाहा पार्कको संरचना आगामी आर्थिक वर्षमा संघीय सरकारको सहयोगमा पूरा गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘एक वडा, एक गौरव’को आयोजना सञ्चालन गर्न नगरस्तरीय र वडास्तरीय गौरवका योजनाहरु पहिचान गरी सोको ‘डीपिआर’ तयार गरी पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने नीति अवलम्बन गरिएको छ ।
त्यसैगरी आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एंवम् स्थानीय सुशासन कायम गरिने प्रतिबद्धता नगरपालिकाले जनाएको छ । वित्तीय व्यवस्थापनका लागि आन्तरिक लेखापरिक्षणबाट त्रैमासिक रुपमा प्राप्त प्रतिवेदनमा उल्लेखित बेरुजुलाई सम्बन्धित शाखा मार्फत समयमा नै फछ्र्यौटलाई कार्यसम्पादन मूल्यांङ्कनको सुचकको रुपमा समेत राखिने नीति लिइने घोषणा गरिएको छ ।
न्यायमा पहुँच, निःशुल्क कानूनी सहायता, विवाद समाधान, बैकल्पिक उपाय र मेलमिलाप गर्ने नीति अख्तियार गरी न्यायिक र अर्ध न्यायिक निकायले गरेको फैसला र मिलापत्रलाई कार्यान्वयनमा ल्याइने घोषणा गरिएको छ ।
गास, बास र कपास समेतको सुनिश्चतता नभई अन्यायमा परि न्यायिक समिति समक्ष न्याय माग्न आउने पिडीतहरुको लागि भरण पोषण कोषको स्थापना गरिने घोषणा गरिएको छ । नगरपालिकाको १२ वटै मेलमिलाप केन्द्रको सञ्चालनलाई निरन्तरता गरी स्तरउन्नति गरिने घोषणा गरिएको छ ।














