थाहा नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषित
३१ असार, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले सोमबार नगरपालिकालाई निश्चित इन्डिकेटर र पुर्ण खोप निर्देशिका २०७१ को आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्नुभएको हो । पुर्णखोप सुरक्षित भविष्य, स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनुभयो । स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक महिना थाहाको २९ वटा खोप केन्द्र बाट नियमित खोपको कार्यक्रम सञ्चालन गर्नुका साथै घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ ।

नगरपालिकामा १६ महिनादेखि देखि २३ महिना उमेर समूहमा ५ सय ५० जनाले पूर्ण मात्रामा लगाएका छन् । जन्मेदेखि १५ महिना सम्मका ६ सय ४१ जनाले आवश्यक खोप लगाइरहेका छन् । पालिकाभित्र ५ वटा स्वास्थ्य संस्था, एउटा प्राथमिक स्वास्थ्य केन्द्र ,३ वटा आधारभूत स्वास्थ्य केन्द्र र ३ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन्। कार्यक्रममा सहभागीहरुले थाहा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।














