दमनकारी प्रावधान ल्याउन लागेको भन्दै प्याब्सनको विरोध प्रदर्शन
९ भदौ, हेटौँडा । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले सोमबार हेटौंडामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरको आयोजनामा भएको कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायत निजी विद्यालयका छाता संगठनहरूको सहभागिता थियो ।
मानसचोकस्थित प्याब्सन कार्यालयबाट सुरु भएको ¥याली संगमचोक, बुद्धचोक, सीमाचोक हुँदै बागमती प्रदेश सभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशीष श्रेष्ठले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ सालमै बने पनि सरकारले त्यसलाई कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले विगतमा निजी विद्यालयहरूले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्तिलाई निरन्तरता दिन तयार रहेको स्पष्ट पार्दै सरकारले विद्यालयहरूलाई लक्षित गरेर दमनकारी प्रावधान ल्याउन लागेको भन्दै आपत्ति जनाउनुभयो ।

त्यस्तै, प्याब्सन बागमती प्रदेश उपाध्यक्ष इन्दिरा पन्त कार्कीले मेहनतका साथ स्थापित निजी विद्यालयमाथि राज्यको नजर परेको भन्दै आपत्ति जनाउनुभयो। गुणस्तरीय शिक्षा प्रदान गरिरहेका निजी विद्यालयलाई मास्ने अभिप्राय सरकारको रहेको उहाँले आरोप लगाउनुभयो ।
यस्तै, प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले संस्थागत विद्यालयहरू राष्ट्रका लागि अपरिहार्य भएपनि राज्यले तिनको योगदानको अवमूल्यन गर्न खोजेको धारणा राख्नुभयो । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनले निजी विद्यालयहरूलाई बन्द गर्ने उद्देश्य राखेको उहाँले तर्क गर्नुभयो ।

विधेयकमा उल्लेखित पूर्ण छात्रवृत्तिको व्यवस्था, निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने लगायत पाँच बुँदे मागका बारेमा उहाँले जानकारी गराउनुभयो । विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन संसदीय समितिबाट पारित भई प्रतिनिधि सभामा पेश भइसकेको छ ।














