दलहरुले समय सापेक्ष परिवर्तनलाई अंगीकार गर्नुपर्छः प्रदेश प्रमुख देवकोटा

संवाददाता
३ आश्विन २०८२, शुक्रबार ११:११

३ असोज, हेटौँडा । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले राजनीतिक नेतृत्वहरुको गल्तीलाई संविधानको दोषको रुपमा लिन नमिल्ने बताउनुभएको छ ।
संविधान दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारको आयोजनामा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख देवकोटाले संविधान कार्यान्वयनको क्रममा राजनीतिक नेतृत्वहरुले गरेको कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज नभएको बताउनुभयो । दलहरुले आफ्नो गल्ती, कमजोरीलाई समयमै चिन्नुपर्ने बताउनुभयो ।
संसारमा सबै कुरा गतिशिल र परिर्वतनीय भएकोले दलहरुले पनि समय सापेक्ष परिवर्तनलाई अंगीकार गर्नुपर्ने उहाँको भनाई छ । प्रदेश प्रमुख देवकोटाले युवापुस्ताको चासो र चाहनालाई वर्तमान संविधानको परिधीभित्र रहेर पुरा गर्न सकिने बताउनुभयो । संविधानको सर्वोच्चता र न्यायमूलक समाजको अपरिहार्यता आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो । स्वाभिमान र स्वाधीनतामा कसैसंग सम्झौता गर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संवैधानिक सर्वोच्चता र विधिको शासनको मुल मर्मलाई आत्मसात् गर्दैै गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । जनआकांक्षाको सम्बोधन र प्रदेशलाई समृद्धिको दिशामा लैजान संविधानको सफल कार्यान्वयन जरुरी भएको उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले संविधान प्रदत्त संघीय शासन प्रणालीलाई प्रभावकारी र जनमुखी तवरले सञ्चालन गर्नु प्रदेश सरकारको दायित्व भएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारलाई मितव्ययी बनाई नागरिकलाई अधिकतम सेवा प्रदान गर्न सबै निकायहरुको फजुल खर्चलाई कटौती गर्ने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । प्रदेशसभाबाट पारित भएको संकल्प प्रस्तावको आधारमा बजेट तर्जुमा प्रणालीमा सुधार गरी स्रोत साधनको वितरणलाई सन्तुलित बनाउने समेत उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी पूर्व मुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले गणतन्त्र विरोधी शक्तिहरुले टाउको उठाउँदा प्रतिनिधिसभा र जननिर्वाचित सरकार विघटन हुन पुगेको बताउनुभयो । संविधान र व्यवस्था भन्दा बाहिरबाट अन्तरिम सरकार गठन भएको उहाँको भनाई छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधान र गणतन्त्रले नै नचिन्ने उहाँले बताउनुभयो । नेता जम्कट्टेलले प्रदेश संरचनामाथि उठेका सवालहरुको विषयमा राजनीतिक दलहरुले समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
आवश्यकताको आधारमा विकासका कामहरु हुन नसक्दा जनताको सबै क्षेत्रमा अझै पनि पहुँच पुग्न नसकेको उहाँको धारणा छ । नेता जम्कट्टेलले प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुप हुने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । निर्वाचन प्रणालीको कारण राजनीतिक अस्थिरता ननिम्तिएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेशका उपसभामुख अप्सरा चापागाई, प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद्हरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*