दिवा खाजा कार्यक्रममा बजेट विनियोजन गर्न शिक्षक संघको सुझाव

संवाददाता
१३ भाद्र २०८२, शुक्रबार १८:४८

१३ भदौ, हेटौँडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ बागमती प्रदेश समितिले प्रदेश सरकारलाई ९ बुँदे सुझावपत्र पेश गरेको छ ।
संघको प्रदेश समितिले शुक्रबार हेटौंडामा आयोजना गरेको समसामयिक शैक्षिक अन्तरक्रिया कार्यक्रममा प्रदेश समितिका अध्यक्ष दिपक सिम्खडाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेलाई सुझाव पत्र पेश गरेको हो ।
शिक्षामा कम्तिमा २० प्रतिशत बजेट विनियोजन गर्न देखि स्कुल बस सहयोग कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने विषय सुझाव पत्रमा पेश गरिएको छ । त्यसैगरी दिवा खाजा कार्यक्रमको लागि संघीय सरकारबाट विनियोजन बजेट न्युन भएकोले प्रदेश सरकारबाट पनि थप बजेट विनियोजन गर्न पनि संघले सरकारलाई सुझाव दिएको छ । सबै स्थानीय तहको शिक्षा सम्बन्धी कानून, ऐन, नियम र कार्यविधिमा एकरुपता कायम गर्नुपर्ने, प्रदेश भित्र कम्तिमा एक स्थानीय तह एक नमुना आवासीय विद्यालयको अवधारणा अगाडी बढाउनुपर्ने पनि सुझाव दिइएको छ । ‘बालबालिका विद्यालय पठाऔं, सिकाऔं टिकाऔं र बिकाऔं’ भन्ने अवधारणालाई अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको छ । सुझाव पत्र लिँदै सामाजिक विकास मन्त्री बादेले शिक्षकहरुको सुझावलाई आफुहरुले सकारात्मक ढंगले लिएको बताउनुभयो । वर्तमान सरकार बजेट निर्माण भइसकेपछि बनेकोले सरकारको बाध्यतालाई पनि बुझिदिन उहाँले आग्रह गर्नुभयो । मन्त्री बादेले शिक्षकको समस्या बारे प्रदेश सरकार जानकार रहेकोले जायज मागलाई पुरा गर्न सहकार्य र समन्वय गर्ने बताउनुभयो । शिक्षकहरुको मागलाई सम्बोधन गर्न स्वयम् शिक्षकहरुले पनि सरकारलाई सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले डिजिटलाइजेशनको अहिलेको युगमा विद्यार्थीहरुलाई परिमार्जित गर्दै आफु पनि परिमार्जित हुन शिक्षकहरुलाई आग्रह गर्नुभयो । परम्परागत शिक्षा प्रणालीलाई विस्थापित गर्दैै वैज्ञानिक शिक्षा प्रणालीमा जानुपर्ने चुनौतीका बीच शिक्षकहरुले राखेको मागलाई सबै तहको सरकारले पुरा गर्नुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले शिक्षकहरुको साझा मागप्रति प्रदेश सरकार गम्भीर रहेको र संघीय सरकारसंग पनि माग पुरा गर्न पहल गर्ने आश्वासन दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल, संघका प्रदेशका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद दाहाल, महिला उपाध्यक्ष कमला कुमारी थापा लगायत जिल्लाका शिक्षक संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*