दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
२५ वैशाख, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वय तथा सुनौलो सिसौट नेपालको आयोजनामा सञ्चालित दुई दिने क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ ।
प्रविधिको प्रयोग र सञ्चार क्षेत्रको बदलिँदो परिस्थिति विषयक तालिमको बिहीबार समापन गरिएको हो । खोज पत्रकारिता, डिजिटल प्लेटफर्मको प्रयोग, भाषिक शुद्धता, र लैङ्गिक समावेशीताजस्ता विषयमा तालिम केन्द्रित रहेको थियो ।
अग्रज पत्रकार दिलभूषण पाठकले पत्रकारितामा प्रविधिको प्रयोग, पत्रकारितामा लैङ्गिक संवेदनशीलता लगायतका विषयमा अनुभव सहित प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, प्राध्यापक डा. निमेष निखिलले समाचार लेखनमा भाषिक शुद्धता र आइटी इञ्जिनियर विवेकानन्द न्यौपानेले पत्रकारितामा सूचना प्रविधिको समुचित प्रयोग र डिजिटल प्लेटफर्मको सदुपयोगलगायत विषयमा व्यावहारिक ज्ञान प्रदान गर्नुभयो ।
समापन समारोहमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै प्रविधिमैत्री पत्रकारिता गर्दै जानुपर्नेमा जोड दिनुभयो । समापन सत्रमा सहभागीहरुको तर्फबाट रबिना घिमिरे र विवश अधिकारीले धारणा राखेका थिए । तालिममा मकवानपुर जिल्लाका २६ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
समापन समारोहमा सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंह, सचिव अनिकेत तिवारी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायत तालिममा सहभागी सञ्चारकर्मीको उपस्थिती थियो ।














