देशमा सुशासन कायम हुन सकेनः उपाध्यक्ष पुन
२२ वैशाख, हेटौँडा । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुनले नेपालको राजनीति ‘डामाडोल’ भएको बताउनुभएको छ ।
वर्तमान सरकार संख्याको हिसाबले दुई तिहाई भएपनि देशमा सुशासन कायम हुन नसकेको उहाँले बताउनुभयो । सोमबार हेटौँडामा भएको योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुरको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारको गतिविधिको कारण दलाल पुँजीपतीहरुको मनोबल उच्च भएको जिकिर गर्नुभयो ।
भ्रष्टचारीहरुलाई कारवाही गर्नुको सट्टा संरक्षणमा सरकार लागेको समेत उहाँले आरोप लगाउनुभयो । सक्रिय राजनीतिमा प्रवेश गरिसकेको पछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै पूर्व उपराष्ट्रपति पुनले विचौलियाहरुको संरक्षणको लागि नै कांग्रेस र एमालेको सरकार बनेको टिप्पणी गर्नुभयो ।

उपाध्यक्ष पुनले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको समेत बताउनुभयो । केही अदृश्य शक्तिहरुले राज्य संयन्त्रहरुलाई घेराबन्दी गरेर अर्थतन्त्रलाई ध्वस्त बनाएको उहाँको भनाई छ । उहाँले ति शक्तिहरुको सञ्जाल संविधान, सरकार, न्यायपालिका सबैतिर व्याप्त रुपमा फैलिएको जिकिर गर्नुभयो । देशको राष्ट्रियतामाथि नै हस्तक्षेप गर्ने हस्तक्षेतकारीहरुसंग ति शक्तिहरुको साँठगाँठ रहेको उहाँले उल्लेख गर्नुभयो ।
उपाध्यक्ष पुनले आफु २ पटक उपराष्ट्रपति हुँदा ति सञ्जालहरुलाई चिनिसकेको दाबी गर्दैै देश बचाउन त्यस्ता अदृश्य शक्तिको सञ्जाललाई तोड्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष पुनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीको भएको समेत बताउनुभयो । कांग्रेस र एमालेले माटोमा पुरिसकेको संविधानसभालाई माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले ब्युताएको समेत उहाँले जिकिर गर्नुभयो । वाईसियल मकवानपुरका संयोजक लवराज ठकुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, जिल्ला इन्चार्ज विजय गौतम, वाईसियल केन्द्रिय अध्यक्ष सुबोध श्रीपाइली, बागमती प्रदेश अध्यक्ष लगायतले मन्तव्य राखेका थिए ।














