नवोदय शिशु सदनले ३ दिन मुन कार्यक्रम गर्ने

संवाददाता
१४ जेष्ठ २०८२, मंगलवार १८:१६

१३ जेठ, हेटौँडा । हेटौंडा ४ स्थित नवोदय शिशु सदनले नमूना संयुक्त राष्ट्र संघ मुन कार्यक्रम आयोजना गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघको काम गर्ने शैली, कूटनीतिक छलफल प्रक्रिया र निर्णय प्रणालीका बारेमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले विद्यालयले कार्यक्रम लागेको हो । जेठ १५ गतेदेखि सुरु हुने नमूना अभ्यास कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
विश्वका करिब २०० राष्ट्रहरुको संयुक्त मञ्चका रुपमा रहेको संयुक्त राष्ट्रसंघको संरचना झल्काउने गरि आयोजना हुने यस कार्यक्रममा मकवानपुर सहित बुटवल, चितवन, रौतहटका विद्यालयहरूको सहभागिता रहने नवोदय नमूना संयुक्त राष्ट्र परिषद्का महासचिव निकेश श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार, कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उठ्ने सामाजिक, आर्थिक, सुरक्षा, मानवअधिकार लगायतका मुद्दाहरूमा छलफल गर्नेछन् ।
कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, सामूहिक रुपमा छलफल गरि आफ्ना विचार र धारणा राख्न सक्ने, संवादद्वारा समाधान खोज्ने सीप, सहकार्य र समालोचनात्मक सोचको विकास, अन्र्तराष्ट्रिय सम्बन्ध लगायत अन्र्तराष्ट्रिय नीति नियम, योजना तथा समस्याको समाधानमाबारे वृहत् विश्लेषण गर्न सक्ने क्षमता वृद्धि हुने विश्वास आयोजकको छ । कार्यक्रममा २ सय ५० जना विद्यार्थी सहभागी हुनेछन् ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले संयुक्त राष्ट्रका निकायहरूको प्रतिनिधित्व गर्दै एजेन्डा समेत महासभामा प्रस्तूत गर्नेछन् । किशोर स्वास्थ्य सेवाका लागि वातावरण सुधार, गर्भपतन रोकथामका लागि विश्वव्यापी उपायहरु, दिगो विकास अध्ययनका लागि लगानी बढाउने, मानव अधिकार र शिक्षामा भष्ट्राचार तथा द्धन्द्धको प्रभाव, द्वन्द्वग्रस्त क्षेत्रमा उर्जा संकटको प्रभाव, द्धन्द्धको समयमा बाल अधिकार सुरक्षित गर्ने उपायहरु, विकिरण प्रदूषण र ओजन तहको तीव्र क्षति–विश्वव्यापी कारवाहीको आव्हान लगायतका एजेन्डाहरुमा महासभा केन्द्रित रहनेछ । कार्यक्रममा विविध सांस्कृतिक गतिविधि, खेलकुद, फोटोबुथ, मेमोरी बोर्ड, नृत्यगायन लगायत मनोरञ्जनात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*