निर्वाचन कार्यालयमा ९ सय ६१ जनाले नाम दर्ता गराए

संवाददाता
२९ आश्विन २०८२, बुधबार १७:५२

२९ असोज, हेटौँडा । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी मकवानपुरका मतदाताहरु उत्साहित ढंगले नामावली दर्ता गराइरहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय, हेटौंडा–५ मा मतदाताहरुले आफ्नो विवरण दर्तासँगै बायोमेट्रिक प्रक्रिया पूरा गरिरहेका छन् । नाम दर्ता गराउनेमा अधिकांश युवा पुस्ताका रहेका छन् । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता कार्यक्रम अन्तर्गत मंगलबार सम्म ९ सय ६१ जनाले नयाँ नाम दर्ता गराइसकेका छन् । यस्तै, १ सय ४० जनाले स्थानान्तरण गराएका छन् । विशेषगरी ज्येष्ठ नागरिक र विवाहपछि ठेगाना परिवर्तन भएकाहरुले स्थानान्तरण गराएका छन् । प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार हाल दुई वटा दर्ता केन्द्र मार्फत काम भइरहेको छ भने चाप बढेसँगै थप केन्द्र स्थापना गरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । एक दिनमा करिब ४ सय जनासम्मको नाम दर्ता गर्न सकिने क्षमता रहेको निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो ।
यसपटक निर्वाचन आयोगले अनलाइन प्रणाली मार्फत पनि दर्ता प्रक्रिया सहज बनाएको छ । पहिला जस्तो आफ्नै स्थायी ठेगानामा पुग्नुपर्ने बाध्यता हटाइएकाले अनलाइन फाराम भरेपछि अब बसोबास क्षेत्रको नजिकको निर्वाचन कार्यालयबाटै नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । अनलाइन फारम भरेपछि नागरिकताको सकल र प्रतिलिपी दुबै लिएर निर्वाचन कार्यालयमा उपस्थित भई बायोमेट्रिक गर्न सकिन्छ । एक व्यक्तिको दर्ता प्रक्रिया पाँच मिनेटमै सकिने कार्यालयको भनाइ रहेको छ ।
निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समयसीमा आगामी कात्तिक ३० गतेसम्म तोकेको छ । सो समयभित्र योग्य सबै नागरिकले आफ्नो नाम दर्ता गरिसक्न निर्वाचन अधिकारी ढकालले आग्रह गर्नुभएको छ । मतदाता नामावलीमा नाम दर्ता गरेपछि नागरिकता वा ड्राइभिङ लाइसेन्स जस्ता वैध प्रमाणका आधारमा मतदान गर्न पाइने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*