नेपालमा ३ दशमलब ९ प्रतिशत जनसंख्यामा दृष्टि समस्या

संवाददाता
२३ आश्विन २०८२, बिहीबार १८:४४

२३ असोज, हेटौँडा । आफ्नो आँखालाई माया गरौं भन्ने नारासहित विश्व दृष्टि दिवस २०२५ नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
यस अवसरमा तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको हेटौंडा सामुदायिक आँखा अस्पतालले दृष्टि समस्या, अन्धोपनका कारण र बच्ने उपायबारे छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अस्पतालका प्रमुख सुनिल थकालीले अन्धोपनका प्रमुख कारण, सुरक्षाका उपाय र समयमै उपचारको महत्वबारे जानकारी गराउनुभयो ।
उहाँका अनुसार नेपालमा दृष्टि समस्या हुने जनसंख्या ३ दशमलब ९ प्रतिशत र अन्धोपन हुने दर ० दशमलब ३ प्रतिशत रहेको छ । तीमध्ये महिलामा बढी समस्या देखिएको बताइएको छ । अन्धोपनका प्रमुख कारणमध्ये मोतीबिन्दुको करिब ६५ प्रतिशत र अन्य कारणमा जलबिन्दु, उमेरजन्य पर्दा र रेटिनासम्बन्धी समस्या रहेको प्रमुख थकालीले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब ४ करोड ५० लाख बालबालिका दृष्टिसम्बन्धी समस्याबाट प्रभावित छन् । नेपालमा मात्र करिब ११ लाख बालबालिकामा दृष्टि समस्या रहेको अनुमान छ, जसमा ७ लाख बालबालिका उपचार सेवाबाट वञ्चित रहेको तथ्यांक सार्वजनिक गरिएको छ । डा. थकालीका अनुसार बच्चा जन्मिएको एक महिनामा पहिलोपटक आँखा परीक्षण, विद्यालय भर्ना अघि र त्यसपछि हरेक वर्ष नियमित जाँच गर्नुपर्ने हुन्छ । मधुमेह भएका २ दशमलब १ प्रतिशत बिरामीमा दृष्टि गुमेको देखिएको हुँदा मधुमेह भएका व्यक्तिले नियमित रूपमा सुगर र आँखा दुवै परीक्षण गर्नुपर्ने उहाँको सुझाव थियो ।
तिलगंगा आँखा प्रतिष्ठानले यस वर्षको दृष्टि दिवसको अवसरमा देशभरका विद्यालय, प्रहरी तथा अन्य सुरक्षा निकाय, सञ्चारकर्मी र पत्रकारहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । प्रतिष्ठानसँग हाल एक उच्चस्तरीय केन्द्र अस्पताल, तीन सामुदायिक आँखा अस्पताल, १६ शल्यक्रिया केन्द्र र ४५ सामुदायिक आँखा केन्द्र रहेका छन्, जसमार्फत वार्षिक करिब ७ लाख बिरामीलाई सेवा प्रदान गरिएको छ भने ५० हजारको शल्यक्रिया गरिएको छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालमा मकवानपुर सहित बारा, पर्सा, रौतहट लगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । गत वर्र्ष ४२ हजार २१ जनाले उपचार सेवा लिएका थिए । २ हजार ५ सय २४ अप्रेशन गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*