नेपाली कागज उत्पादन र केयर गिभर तालिम सम्पन्न
३ असार, हेटौँडा । राक्सिराङ गाउँपालिकामा सञ्चालित दुई वटा तालिमको एकै दिन समापन गरिएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय हेटौँडाको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम संघ (डिमेगा) मकवानपुरको आयोजनामा सञ्चालित ३० दिने नेपाली कागज उत्पादन तालिम र राक्सिराङ गाउँपालिका तथा प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले दिएको ३ सय ९० घण्टे केयर गिभर तालिमको एकै पटक समापन गरिएको हो ।
डिमेगा मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काको अध्यक्षता एवम् बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री तामाङले बागमती प्रदेश सरकार युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिने लक्ष्यमा प्रतिबद्ध रहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।
बोटे, हायू, मुसहर, माझी, र वनकरिया समुदायलाई लक्षित गरी चितवन, सिन्धुली, मकवानपुर र रामेछाप जिल्लामा बीउँपूँजी सहितका कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । महिला उद्यमीको हितमा आफूले मन्त्रालय सम्हालेदेखि नै काम गर्दै आएको बताउँदै मन्त्री तामाङले उद्योग दर्ता शुल्क १२ हजारबाट घटाएर ३ हजारमा झारेको जानकारी दिनुभयो । ब्रोअरी दर्ता प्रक्रिया पनि सहज बनाइएको मन्त्री तामाङले बताउनुभयो ।
मन्त्रालयको कुल ७७ करोड ९६ लाख बजेटले दूरदराजमा बसोबास गर्ने समुदायलाई समेत लक्षित गरेको उहाँले दाबी गनुृभयो । मन्त्री तामाङले झोलामा बजेट हाल्ने काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गरिएको बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङले गाजा खेती रोक्न रोजगारमुखी कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो । राक्सिराङ क्षेत्रलाई गाजा अफिम भनेर चिनिने गरेकोमा दुःख व्यक्त गर्दै युवाका लागि रोजगारीमूलक कार्यक्रम ल्याउन उहाँले आग्रह गर्नुभयो । युवालाई वैकल्पिक रोजगारी सुनिश्चित गर्न नसके गाजा वैधानिक बनाउनुपर्ने उहाँको धारणा थियो । देशमै रोजगारी सृजना गर्ने उद्योग, कलकारखाना सञ्चालनको दायित्व बोकेको मन्त्रालयमा बजेट कम आएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।
राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले स्वदेशमै युवा रोजगारीका कुरा उठाउने तर बजेट छुट्याउने बेलामा प्राथमिकता नदिने प्रवृत्तिको आलोचना गर्नुभयो । राक्सिराङका युवालाई गाजा अफिम खेती गर्नबाट रोक्न सरकारले लक्षित समुदायका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो । भाषण मात्रै गर्ने तर बजेट नछुट्टयाउने प्रवृत्तिले राक्सिराङका जनतालाई गाजा खेती गर अनि जेल जाउ भन्नु सरह रहेको भन्दै प्रदेश सरकारप्रति असन्तुष्टि जनाउनुभयो ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव महेश पौडेल, उद्योग वाणिज्य कार्यालय प्रमुख रामप्रसाद भुषाल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायतले धारणा राख्नुभएको थियो ।














