परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा राष्ट्रिय सहमति कायम गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

संवाददाता
५ चैत्र २०८०, सोमबार १७:२६

५ चैत्र, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा राष्ट्रिय सहमति गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी समसामयिक विषयमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देशको हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा राष्ट्रिय सहमति आजको आवश्यकता रहेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय हित र राष्ट्रिय सार्वभौमिकताको सम्बन्धमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले रुस सरकारसँग सरकारले नेपालीहरुलाई रुसी सेनामा भर्ती नलिन र सम्झौता गरिएकोहरुसँग सम्झौता खारेज गर्न आग्रह गरेको बताउनुभयो । उहाँले रुसी सरकारले मृतकको परिवारलाई क्षतिपूर्ति एवं बीमा वापत्को रकम उपलब्ध गराउने प्रक्रिया प्रारम्भ भइसकेको दाबी समेत गर्नुभयो ।
परराष्ट्रमन्त्री श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने समेत बताउनुभयो । बिमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कको सट्टामा विमस्टेकलाई स्वीकार गरिएको होइन भनि प्रष्ट पार्नुभएको हो । उहाँले विमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने समेत जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम रहेको बताउनु भयो । उहाँले सार्कलाई पुनः क्रियाशील बनाउन सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गर्नुभयो ।
परराष्ट्रमन्त्री श्रेष्ठे बिमस्टेकबाट नेपालले लाभ प्राप्त गर्नेगरी अगाडी बढ्ने कुरामा सरकार सकारात्मक रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*