परियोजनाहरूको प्राथमिकताको आधारमा बजेट छुट्टाउनुपर्छः प्रवक्ता महत
११ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूको प्राथमिकताको आधारमा बजेट छुट्टाउनुपर्ने बताउनुभएको छ ।
बिहीवार विपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनको सहकार्यमा काठमाडौंमा आयोजित गरेको आगामी बजेटका प्राथमिकताहरू विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रवक्ता महतले आगामी योजनाहरूमध्ये प्राथमिकतालाई प्रमुख जोड दिन सक्नुपर्ने बताउनु भयो ।
उहाँले पर्यटकीय केन्द्र, उत्पादन क्षेत्र र जनसङ्ख्याको केन्द्रलाई प्रमुख आधार बनाएर बजेट विनियोजन गरी भौतिक निर्माणका कामहरूलाई अगाडी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले आफूहरूले तीन करोड भन्दा तलका योजनाहरू केन्द्र सरकारले नराख्ने भनेर कार्यविधि बनाए पनि कार्यान्वयन गर्न नपाउँदै सरकारबाट बाहिरिनुपरेको स्मरण गर्नुभयो ।
उहाँले उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रलाई दिने र वितरणको जिम्मेवारी राज्यले लिनु नै आजको समाजवाद भएको बताउनु भयो । उहाँले उत्पादनमा सरकार फेल भइसकेको बताउँदै उहाँले उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वअर्थमन्त्री महतले उपस्थित नभई नहुने क्षेत्रमा राज्य संलग्न हुनुपर्ने बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य निजी क्षेत्रले निःशुल्क नदिने बताउँदै त्यस्तो संवेदनशील क्षेत्रमा सरकारले कदम बढाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वअर्थमन्त्री महतले केन्द्र सरकारलाई साना—साना लगानी आयोजनाहरू छुट्याइँदा परिणाम निकाल्न नसकेको जिकिर गर्नुभयो ।














