पोषणयुक्त खाना सुनिश्चित गर्न जैविक जागरण अभियान सुरु

संवाददाता
१३ बैशाख २०८२, शनिबार १७:०८

१३ वैशाख, हेटौँडा । खाद्यका लागि कृषि अभियानले रासायनिक मल र विषादीको प्रयोग रोक्न तथा पोषणयुक्त खाना सुनिश्चित गर्न जैविक जागरण अभियान सुरु गरेको छ ।
बैशाख ९ गतेदेखि सुरु भएको एक महिने अभियानको पाँचौं दिन मकवानपुरमा सञ्चारकर्मीहरूसँग भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । भेटका क्रममा अभियानका संयोजक उद्धव अधिकारीले स्थानीय विशेषता र प्रकृतिसँग समन्वय गर्दै जैविक खेती प्रणालीतर्फ जानुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै अभियान चलाइएको बताउनुभयो ।
सबै नागरिकलाई स्वस्थ र पोषणयुक्त खाना उपलब्ध गराउने प्राकृतिक अधिकार सुनिश्चित गराउन, महिला, दलित, आदिवासी जनजाती, किसान, विपन्न समूहको न्यायसंगत हक स्थापित गर्न र सारोकारवाला निकायलाई जवाफदेही बनाउने अवसरका रुपमा अभियानलाई लिइएको उहाँले बताउनुभयो । यस अभियान अन्तर्गत विभिन्न स्थानीय तह, किसान समूह, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया, छलफल, कृषि फार्महरुको अवलोकन तथा चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।
अभियानकै क्रममा शुक्रबार बागमती प्रदेश सभामुख, उपसभामुख तथा विषयगत समितिका सभापतिसँग भेट गरी प्रकृतिमैत्री कृषि नीति निर्माणका लागि टोलीले सुझाव समेत दिएका थिए । विषमुक्त, पोषणयुक्त खाना सधैँका लागि सबैका लागि उपलब्ध गराउने दृढ अठोटका साथ सञ्चालित जागरण अभियान काभ्रे जिल्लामा गएर समापन हुने बताइएको छ । सबै तहका सरकार, नागरिक समाज, कृषक र सञ्चारमाध्यमलाई अभियानमा सक्रिय सहभागीतको लागि आयोजकले अग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*