प्रतिष्ठानको काम द्रुत गतिमा अघि बढाऔँ, बजेटको कमी हुँदैनः मुख्यमन्त्री बानियाँ
१२ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभएको छ ।
बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा आयोजित प्रतिष्ठानको हालको अवस्था र भावी रणनीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले अन्य विकास निर्माणका योजनाहरू रोकेर भएपनि स्वास्थ्यसँग सम्बन्धित कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको भन्दै त्यसका लागि आवश्यक बजेट तथा स्रोतको कमी हुन नदिने उहाँको भनाइ थियो । प्रतिष्ठानको कुलपति समेत रहनुभएका मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा प्रदेश सभाबाट सर्वसम्मत रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा राजनीतिक गर्न नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशकै गौरवको योजनाका रुपमा रहेको प्रतिष्ठानलाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमहरूलाई एकै छानामुनि, एकीकृत भवनबाट सञ्चालन गर्न आग्रह गर्नुभयो । यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले स्वीकृत भएको २ सय शैयाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी तत्काल सुरु गर्न निर्देशन दिनुभयो । निर्माणाधीन बेसिक साइन्स भवनको काममा भएको ढिलासुस्तीप्रति चासो व्यक्त गर्दै उहाँले तोकिएको समयमा र सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई कानून अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो ।

त्यसैगरी प्रतिष्ठानका संस्थापक कुलपति एवम् प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिएर कुनै पनि राजनीतिक विवाद नरहेको दाबी गर्नुभयो । उहाँले प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम ल्याउनका लागि सबैको सामूहिक प्रयास अतुलनीय रहेको बताउनुभयो । उहाँले बहानाबाजी गरेर प्रतिष्ठानको साख गिराउने कार्य कसैले पनि नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदीपराज ज्ञवालीले प्रतिष्ठानको २५ वर्षे विकास योजना, मेडिकल विश्वविद्यालय स्थापना, नियमावली संशोधन, सेवा आयोग गठन, र अस्पतालको जग्गा संरक्षणलगायतका अल्पकालीन तथा दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको थियो । हाल प्रतिष्ठानमा बि.फार्मेसी, ल्याब मेडिसिन, बिपिएच, र बीएस्सी नर्सिङ जस्ता स्नातक तहमा ३ सय ५८ जना विद्यार्थी अध्ययनरत छन्। यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा आयोगबाट एमबीबीएस कार्यक्रमका लागि ५० सिटको थप स्वीकृति प्राप्त भएको उपकुलपति ज्ञवालीले जानकारी दिनुभयो । प्रतिष्ठानमा एमडी तहमा ७ विभिन्न विषयमा ८ जना विद्यार्थी अध्ययनरत छन् । अन्तरक्रियामा स्वास्यमन्त्री किरण थापा, नेकपा एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार एवम् हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईँलगायतको उपस्थिती थियो ।














