प्रदेश युवा सम्मेलनको तयारी पुरा, २ सय जना युवा सहभागि हुने
२५ वैशाख, हेटौँडा । बागमती प्रदेशमा प्रदेश युवा सम्मेलन–२०८१ को तयारी पुरा भएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवा सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभएको हो । वैशाख २८, २९ र ३० गते हुने सम्मेलनमा प्रदेशका १३ जिल्लाका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २ सय जना युवाको सहभागिता रहने कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । ५ सय ३७ जनाले अनलाइन मार्फत आवेदन दिएकोमा पूर्ण समावेशीको आधारमा २ सय जनालाई छनोट गरिएको उहाँले बताउनुभयो । प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत नै सम्मेलन गर्न लागिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो ।
सम्मेलनमा युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरिने उहाँले बताउनुभयो । शिक्षातर्फ विशेष गरी विश्वविद्यालय तहको शिक्षामा विद्यार्थीको आकर्षण नहुनु र शिक्षाकै लागि विदेशिने प्रवृत्तिको विषयमा पनि सम्मेलनमा बहस हुनेछ ।
कार्यकारी उपाध्यक्ष चौलागाईले सम्मेलनमा डिजिटल साक्षरताको विषयसंगै मुख्यमन्त्रीसंग युवाको अन्तरक्रियाको समेत आयोजना गरिने जानकारी दिनुभयो । सम्मेलन पश्चात् सहभागी युवा प्रदेश सरकारसंग निरन्तर संवादमा रहन सक्ने, प्रदेश सरकारलाई रचनात्मक सुझाव दिन सक्षम हुने सक्नेमा पनि युवा परिषद् आशावादी रहेको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो ।
सम्मेलनमा संघीय सांसद्हरु महेश बर्तौला, सुशीला थिङ, पत्रकार टिकाराम यात्री र विश्वनाथ कोइराला लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा सहभागीलाई पर्यटकीय क्षेत्रको भ्रमण समेत गराइने भएको छ । ११ बुँदे घोषणा पत्र जारी गर्दै पहिलो युवा सम्मेलन सकिएको थियो भने ७ वटा बुँदा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको युवा परिषद्को दाबी छ ।














