प्रदेश युवा सम्मेलन २०८२ को तयारी पुरा
२७ वैशाख, हेटौँडा । प्रदेश युवा परिषद बागमतीको आयोजनामा बैशाख २८ देखि ३० गतेसम्म प्रदेश राजधानी हेटौंडामा तेस्रो प्रदेश युवा सम्मेलन २०८२ हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै युवा सम्मेलनको सबै तयारी पूरा भएको प्रदेश यूवा परिषद्ले जनाएको छ । सम्मेलनमा कृषिमा नवप्रवर्तन, डिजिटल सुशासन, शिक्षा र सिर्जना, जलवायु परिवर्तन, सिपमूलक तालिम र नीति नेतृत्व लगायतका विषयमा विज्ञहरूसँग प्यानल छलफलका साथै कार्यशाला गोष्ठी आयोजना हुनेछ । साथै मुख्यमन्त्रीसँग युवा संवाद, युवा उद्यमीहरुको प्रदर्शनी, सीप वर्ष अन्तर्गततालिम प्राप्त गरेका युवाहरुको अनुभव, नेपालकै पहिलो सुरुङमार्गको अवलोकन, हाइकिङ, विभिन्न कला प्रदर्शनी समेत आयोजना हुने बताइएको छ ।
सम्मेलनमा सातै प्रदेशका तीन सय भन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईले बताउनुभयो । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षलाई युवा सीप वर्ष घोषणा गरी सीप विकासका कार्यक्रमहरुलाई प्राथमिकता दिदै आएको छ । परिषद् मार्फत् हालसम्म १० हजार पाँच सय युवाले सीप सिकेका छन् भने ४ सय भन्दा बढी युवा उद्यमशिलतामा जोडिएको कार्यकारी उपाध्यक्ष चौंलागाईले बताउनुभयो । परिषद्ले २०८० सालदेखि प्रत्ष्येक वर्ष युवा सम्मेलन गर्दै आएको छ ।
उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेषभुषा, साँस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित ¥याली गरिने परिषद्ले जनाएको छ । ¥यालीमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा लगायत प्रदेशका मन्त्रीहरु समेत सहभागी हुनेछन् । सम्मेलन प्रदेशको दीर्घकालीन युवा सशक्तीकरण अभियानको संस्थागत आधार बन्ने परिषद्को विश्वास रहेको छ ।














