बकैयाका ६१ जना भूमिहीनलाई जग्गाधनीे प्रमाणपुर्जा वितरण
३१ चैत्र, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाका ६१ जना भूमिहीन दलित तथा भूमीहीन सुकुम्बासीलाई जग्गाधनीे प्रमाणपुर्जा वितरण गरिएको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको एक समारोहका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री वलराम अधिकारीको प्रमुख आतिथ्यतामा वडा नम्बर ४ र ७ का ६१ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउनु सरकारको दायित्व रहेको बताउनुभयो । भूमीहीन दलित, सुकुम्बासी र अव्यवस्थीत बसोबासीलाई व्यवस्थापन गर्ने गरि कार्य भैरहेको दाबी गर्दै मन्त्री अधिकारीले भूमी सम्बन्धी समाधानका लागि गठित यो आयोग नै अन्तिम आयोग हुने जिकिर गर्नुभयो ।
मन्त्री अधिकारीले अझै २८ वटा स्थानीय तहले भूमीहीनहरुको तथ्यांक नबुझाएको बताउँदै तथ्यांकमा छुटेकाहरुलाई
समेट्ने गरि अन्तिम पटक सूचना निकाल्ने तयारी भैरहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर २ का सांसद एवम् नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले १० लाख भूमीहीनका लागि ल्याइएको भूमिसम्बन्धी अध्यादेश निष्कर्षमा पुराउन नसकेकोमा दुख व्यक्त गनुृभयो ।
जीवनमै पहिलोपटक आफ्नो घरजग्गाको अधिकार पाएको भन्दै स्थानीय खुशी देखिएका थिए । मकवानपुर जिल्लामा करिब ३५ हजार भूमिहीन रहेका छन् । बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, इन्द्रबहादुर बाँनिया लगायतले मन्तव्य राखेका थिए ।














