बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेश
१९ श्रावण, हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दावी पेश गर्नुभएको छ ।
कांग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेश गर्नुभएको हो । प्रदेश प्रमुख समक्ष १९ गते पेश गरिएको दावीमा ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ । संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनीहरूले दाबी पेश गरेका हुन् ।
दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाद्वारा हस्ताक्षर गरिएको छ ।
प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । मंगलबार दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त गरेर ४ बजेपछि शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।














