बागमतीमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण पुनःस्थगित
१५ श्रावण, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण पुनःस्थगित भएको छ ।
बिहिबार बिहान एक सुचना जारी अर्को सुचना प्रकाशित नभएसम्मको लागि शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको हो ।
सोही कारण आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
प्रदेश प्रमुख देवकोटा उपचारका लागि काठमाडौँ प्रस्थान गरिसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
बुधबार मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनकी माया श्रेष्ठ, गीता गुरुङ रहेका थिए भने धादिङका गोविन्द लम्साललाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित प्रदेश प्रमुख समक्ष पत्राचार गरिएको थियो ।
यसअघि सत्ता साझेदार दल एमालेको असहमति पछि नवनियुक्त ३ मन्त्रीको बुधबार हुने भनिएको शपथ रोकिएको थियो ।
मुख्यमन्त्री लामाले यसअघि चार जना मन्त्रीलाई पदमुक्त र मंगलबार एक मन्त्रीले राजीनामा दिएपछि पाँच वटा मन्त्रालय मन्त्रीबिहीन बनेको थियो ।














