बागमती प्रदेशका मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता
१८ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता भएको छ ।
प्रदेश सुशासन ऐन २०७७ को दफा १९ तथा प्रदेश नियमावली २०७७ को नियम ९ बमोजिम मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८२÷८३ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्यहरू र जिम्मेवारीका बारेमा मुख्यमन्त्री बानियाँले १३ जना मन्त्रीहरूसंग कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।
कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्नुपर्ने कामहरू, कार्ययोजना, समयसीमा लगायत उल्लेख गरिएको छ । सम्झौतापछि मुख्यमन्त्री बानियाँले राम्रो काम गर्नेलाई पार्टी र जनताले निरन्तरता दिने व्यवस्था लोकतन्त्रमा मात्रै सम्भव भएको बताउनुभयो । जनताको हितमा सुशासन कायम हुने गरी पारदर्शीता र जवाफदेही ढंगले काम गर्न उहाँले मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।
मुख्यमन्त्री बानियाँले सबै मन्त्रीहरुले आफ्नो कार्यविभाजन अनुसार काम गर्नेमा विश्वास रहेको बताउनुभयो ।
बागमती प्रदेशमा पहिलो पटक नतिजा सुचक प्रणालीमा आधारित ढाचाँमा कार्यसम्पादन करार गरिएको हो । अब मन्त्रीहरुले सम्बिन्धत मन्त्रालयका सचिवहरुसंग पनि कार्यसम्पादन सम्झौता गर्ने छ । सम्झौता बमोजिमका कार्यहरुको मासिक कार्यसम्पादनको प्रगति मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ ।














