बागमती प्रदेशका श्रम मन्त्री महर्जनको एक वर्षे उपलब्धि सार्वजनिक
१३ श्रावण, हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले आफ्नो एक वर्षे कार्यकालमा हासिल गरेका मुख्य उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री महर्जनले नीतिगत तथा संस्थागत उपलब्धिका साथै चालू आर्थिक वर्षमा मन्त्रालयले गर्ने कार्यक्रमबारे जानकारी दिनुभयो । बागमती प्रदेश सरकारको आफ्नै लाइसेन्स प्रणाली ‘बागमती ईडीएल’ सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट बागमती ईडीएल, ई–ब्लुबुक र सवारी लाइसेन्स अनुमतिपत्र छपाईको शुभारम्भ भएको उहाँले बताउनुभयो । सोही अनुसार सवारी चालक अनुमतिपत्र छपाईका लागि आवश्यक प्रिन्टर खरिद भइसकेको र अब भदौ महिनाभित्र प्रदेशबाटै लाइसेन्स छपाई गरी वितरण गर्ने तयारी रहेको छ । बागमती प्रदेशमा ८ लाख ५० हजार लाइसेन्स छाप्न बाँकी छ ।
ट्राफिक प्रहरीले ट्राफिक भायोलेशन रेकर्ड सिष्टमलाई नागरिक एपमा आबद्ध गराएर क्यूआर कोडसहित लाइसेन्स देखिने व्यवस्था मिलाएको मन्त्री महर्जनले बताउनुभयो । ट्राफिक जरिवाना समेत सोही एप मार्फत डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था गरिएको मन्त्री महर्जनले जानकारी दिनुभयो । यसले कार्यसम्पादनमा थप सरलता र प्रभावकारिता ल्याएको मन्त्री महर्जनको दाबी रहेको छ ।
यातायात व्यवस्था कार्यालयहरूका कागज अभिलेखको डिजिटलाइजेसनका लागि कर्मचारी नियुक्त गरी पूर्वाधार तयार पारिएको छ । साना ठूला करिब २६ लाख सवारीसाधनको पुरानो अभिलेख डिजिटलाइजेसन गरिएपछि ब्लुबुक नवीकरण, सवारी कर लगायतका सेवा घरबाटै लिन सकिने मन्त्री महर्जनले बताउनुभयो ।
सवारी चालक अनुमतिपत्रको लागि गरिने स्वास्थ्य परीक्षणलाई एकरूपता कायम गर्नुका साथै प्रदेश सवारी तथा यातायात नियमावलीको मस्यौदा तयार, बालश्रम सम्बन्धी ५ वर्षे रणनीति, श्रम रोजगार सम्बन्धी ५ वर्षे रणनीति, श्रम रोजगार ऐन तर्जुमा कार्य अगाडि बढाइएको छ ।














