बागमती प्रदेशको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

संवाददाता
१५ जेष्ठ २०८२, बुधबार १९:३४

१४ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले १ सय १६ बुँदामा रहेको प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा सरकारले सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । प्रादेशिक सडको गुरुयोजनाको अद्यावधिक गरी प्राथमिकताको आधारमा प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्गहरुको विकास र स्तरोन्नति गरिने भएको छ ।
स्थानीय तहमा सडक सञ्जालको विकासलाई प्राथमिकता दिने प्रदेश प्रमुख देवकोटाले बताउनुभयो । ‘एक वडा एक कृषि कार्यक्रम अन्तर्गत निक्षेप तथा कर्जा सुरक्षण कोषसंगको साझेदारीमा कृषिमा लगानी अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘सबै नीतिमा स्वास्थ्य नीति’ कार्यक्रमको कार्यान्वयनमा निरन्तरता दिइने उहाँले बताउनुभयो । एक जिल्ला एक स्वस्थ्य सहर अवधारणालाई सबै जिल्लाहरुमा सञ्चालन गरिने समेत प्रदेश प्रमुख देवकोटाले उल्लेख गर्नुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विकास तथा सेवा विस्तार गर्दै नर्सिङ विषयको अध्ययन अध्यापन गराउने व्यवस्था समेत मिलाइने उहाँले बताउनुभयो ।
प्रदेश प्रमुख देवकोटाले हेटौंडाको गौरीटार र चितवनको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा खेलकुद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।
निर्णय प्रक्रिया र अनुगमन तथा मुल्याङकन प्रणालीमा एआई र सुचना प्रविधिको उच्चतम प्रयोग गरिने भएको छ । प्रदेशलाई चाहिने प्रणालीहरुको चरणबद्ध पहिचान, विकास तथा आन्तरिकीकरण गर्दै प्रशासनिक सुधार एवम् गतिशीलता प्रदान गरिने प्रदेश प्रमुख देवकोटाले बताउनुभयो । भ्रष्टचारविरुद्ध शुन्य सहनशीलताको नीति लिई प्रादेशिक रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयन गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
प्रदेश सरकारले विपद् जोखिम न्युनिकरणको लागि विपद्को पूर्व तयारीमा जोड दिने भएको छ । प्रदेशको आपतकालिन कार्य सञ्चालन केन्द्रलाई प्रविधिमैत्री बनाइने प्रदेश प्रमुख देवकोटाले बताउनुभयो । त्यसैगरी प्रहरी समायोजनको लागि अन्य प्रदेशहरुसंगको समन्वय र सहकार्यमा संघीय सरकारसंग पहल गरिने समेत उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*