बागमती प्रदेश सभामा २५ देखि ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान

संवाददाता
२९ भाद्र २०८२, आईतवार १६:५५

२९ भाद्र, हेटौँडा । जनजीवन सामान्य बन्दै गएपछि बागमती प्रदेशका मन्त्रालय र निकायमा आइतबारदेखि नियमित रुपमा कर्मचारीहरू उपस्थित हुन थालेका छन् ।
तर कार्यालय पुगेका उनीहरूलाई बस्ने ठाउँ र काम गर्ने वातावरण नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको छ । जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाभित्रबाट बचेकुचेका सामान निकाल्ने, कागजपत्र संकलन गर्ने र सरसफाइ गर्ने कार्यमै आइतबार पनि कर्मचारीहरू व्यस्त रहेका छन् । अब के गर्ने ? कहाँबाट सुरु गर्ने ? भन्ने मै कर्मचारी अलमल देखिएका थिए । प्रदेश सरकारका विभिन्न मन्त्रालयमा के कति क्षति भयो भन्ने प्रारम्भिक विवरण संकलनको काम पनि सुरु गरिएको छ ।


बागमती प्रदेश सभामा मात्रै २५ देखि ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदेशसभाका प्रवक्ता मनोज गुप्ताका अनुसार नयाँ र पुराना दुवै भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसमेत जलेर नष्ट भएको छ भने एक करोड भन्दा बढीका प्राविधिक संरचना नष्ट भएका छन् । सचिवालयका ५ वटा दुईपांग्रे, ३ वटा गाडी र २ वटा निजी मोटरसाइकल पूर्णरुपमा क्षति भएका छन् । सामाजिक विकास मन्त्रालयको कम्पाउण्डमा सुरक्षित राखिएको प्रदेश सभाका ३ वटा गाडी पनि आगजनीबाट बच्न सकेनन् ।


प्रदेश सभाभित्र रहेका विभिन्न दलका कार्यालयहरू पनि जलेर नष्ट भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, हाम्रो नेपाली पार्टी र नेमकिपाको संसदीय दलका कार्यालयमा रहेका सबै कागजपत्र, फर्निचर र सामग्री खरानी बनेका छन् । नेकपा माओवादी केन्द्र र समाजवादीका दल कार्यालय भने माथिल्लो तलामा भएकाले आंशिक मात्र क्षति भएको छ । प्रदेश सभा सचिवालयका प्रशासन र कार्यव्यवस्थासम्बन्धी सबै कागजपत्र जलेका छन् भने कानून तथा विधेयक शाखामा रहेका विधेयकहरू सुरक्षित रहेको प्रवक्ता गुप्ताले जानकारी दिनुभयो ।
बागमती प्रदेश सभाका दुबै भवन क्षतिग्रस्त बनेपछि बैठक अनिश्चित बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*