बागमती प्रदेश सभा बैठक मंगलबार बस्ने

संवाददाता
२३ चैत्र २०८२, सोमबार १९:०४

२३ चैत्र, हेटौँडा । जेन–जी आन्दोलनपछि पहिलो पटक बागमती प्रदेश सभाको बैठक मंगलबार बस्ने भएको छ ।
मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेश सभाको १७ औं अधिवेशनको पहिलो बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले सोमबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । जेन–जी आन्दोलनका कारण प्रदेश सभा भवन तथा संरचनामा क्षति पुगेपछि बैठक सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकासँगै रहेको मुख्यमन्त्री सभाहलमा आवश्यक व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिनेछ । साथै, प्रदेश सभा नियमावली २०७४ को नियम ११ बमोजिम बैठकमा अध्यक्षता गर्ने माननीय सदस्यहरूको मनोनयन गरिने कार्यसूची छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले पनि मन्तव्य राख्ने कार्यक्रम रहेको छ । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ सम्बन्धी उत्तर–विधायकी परीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ । बैठकमा दुई वटा विधेयक र दुई वटा प्रतिवेदन पनि पेश गरिने उपसभामुख अप्सरा चापागाईले जानकारी दिनुभयो ।
‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ रहेका छन् । साथै, प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिनेछ । यसअघि मंगलबार दिउँसो १ बजे सर्वदलीय बैठक र २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख निर्वाचन कार्यक्रम कहिले गर्ने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ ।
जेन जि आन्दोलनकै बीचमा तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनुभएपछि बागमती प्रदेश सभामा सभामुख रिक्त रहेको छ । सभामुख पदमा सत्तापक्षका दुबै दल काँग्रेस एमाले र प्रमुख प्रतिपक्षि नेकपाले पनि दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*