बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
२१ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को कार्यक्रम बहुमतले पारित भएको हो । जेठ १४ गते प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम माथि जेठ १९, २० र २१ गते छलफल भएको थियो । जेठ २१ गते मुख्यमन्त्री बहादुर सिंह लामाले छलफलको क्रममा उठेका जिज्ञाशाको जवाफ दिएसंगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रम माथि परेको संशोधनको प्रस्ताव प्रदेशसभाबाट बहुमतले अस्वीकृत भएको छ । मुख्यमन्त्री लामाले सबै सांसद्हरुको प्रतिनिधित्व हुने गरी नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । छलफलको क्रममा सांसद्हरुले दिएको सुझावलाई बजेटमा समेट्ने पनि मुख्यमन्त्री लामाले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशसभाको अर्को बैठक जेठ ३० गते दिनको १ बजे बस्ने गरी स्थगित भएको छ । असार १ गते प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत हुनेछ ।














