बागमती प्रदेश सरकारले पूर्णता पायो, नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
३० श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई पूर्णता दिनुभएको छ ।
शुक्रबार रिक्त रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरेसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको हो । नवनियुक्त पाँच मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बानियाँको उपस्थितिमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात कुमार तामाङ, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री उर्मिला केसी र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
यसैगरी, विनाविभागीय मन्त्री रहनुभएका शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा नेकपा एमालेले ६ र नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाएका छन् ।
एमालेबाट मन्त्री बनेका ६ जनासहित कांग्रेसका मुख्यमन्त्रीसहित ३ जनाले यसअघि नै शपथ लिइसकेका छन्।














