बागमती प्रदेश सरकारले ३ दिन संविधान दिवस मनाउने

संवाददाता
१९ भाद्र २०८२, बिहीबार १२:५५

१९ भाद्र, हेटौँडा । बागमती प्रदेश सरकारले तीन दिन संविधान दिवस मनाउने भएको छ ।
बिहिबार हेटौंडामा बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को प्रदेशस्तरीय मूल समारोह समिति गठन तथा कार्यक्रम ब्यवस्थापन सम्बन्धी बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले असोज १, २ र ३ गते संविधान दिवस मनाउने जानकारी दिनुभयो । संविधान दिवसलाई सबैले आ–आफने निकायबाट उत्सवको रुपमा मनाउन उहाँले आग्रह समेत गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले अहिलेको व्यवस्थाप्रति जनतालाई भरोसा जोगाउँदै संविधान संशोधन गर्नुपर्ने बताउनुभो ।
संविधानलाई अझै व्यवस्थित र मर्यादित बनाउन केही प्रावधानहरुलाई संशोधन गर्नुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले २०७२ सालमा जारी भएको संविधानले सबैको महत्व र अस्तित्वलाई स्वीकार गरेको बताउनुभयो ।
जनताको जनबलमा आएको संविधानको रक्षा गर्ने जिम्मेवारी सबैको भएको उहाँले उल्लेख गर्नुभयो ।
बैठकले संविधान दिवस मनाउन मुख्यमन्त्री बानियाँको अध्यक्षतामा ४३ सदस्यीय प्रदेशस्तरीय मुल समारोह समिति समेत गठन गरेको छ । संविधान दिवसको अवसरमा असोज १ गते ‘संविधानः सबल राष्ट्रको निर्माणको आधार’ विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता र सोही दिन युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्को आयोजनामा खेलकुद प्रतियोगिता समेत हुनेछ ।
त्यसैगरी असोज २ गते रक्तदान र वृक्षारोपण कार्यक्रम समेत हुनेछ । दिवसको मुख्य दिन असोज ३ गते हेटौंडा नगर क्षेत्रको विशेष सरसफाईको व्यवस्थापन गरिनेछ । सोही दिन हेटौंडाको भुटनदेवी मा.वि.बाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरी प्रदेश प्रमुखको प्रमुख आतिथ्यता र सभामुखको विशेष आतिथ्यतामा औपचारिक कार्यक्रम गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*