भगवान कृष्णको सन्देश आज पनि सान्दर्भिकः मुख्यमन्त्री बानियाँ
३१ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भगवान श्रीकृष्ण समाजवादी विचारधाराका रहेको बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिका ६ गौरीटारमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, श्रीकृष्ण प्रणामी मूलमिलावा धामद्वारा आयोजित कृष्ण जन्माष्टमी विशेष कार्यक्रममा बोल्दै उहाँले असत्यको विरुद्धमा आफ्नैसँग पनि लड्नुपर्ने सन्देश कृष्णले दिएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले कृष्णको जीवन दर्शनमा समाजवाद र गणतन्त्रको भावना रहेको उल्लेख गर्दै महाभारतकालमा कृष्णले दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
कृष्णले जन्मको आधारमा नभई कर्मको आधारमा मानिस ठूलो हुन्छ भन्ने पाठ सिकाएको उहाँको भनाई छ । कृष्ण प्रणामी धर्मलाई सर्वश्रेष्ठ धर्मको रूपमा व्याख्या गर्दै मुख्यमन्त्री बानियाँले यस धर्ममा जात, लिङ्ग लगायत कुनै पनि आधारमा विभेद नगरिने भएकाले यो वैज्ञानिक र व्यावहारिक रहेको दाबी गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार हुँदा खाने वर्गको पक्षमा रहेको बताउनुभयो । कसैलाई पनि अन्याय हुन नदिई न्याय प्रदान गर्नु नै धर्म भएको उहाँले धारणा राख्नुभयो । आफू मुख्यमन्त्रीको रूपमा रहँदा सदैव सत्य र न्यायको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले संघर्ष गर्दै जाँदा सफलता प्राप्त हुन्छ भन्ने पाठ भगवान श्रीकृष्णबाट सिक्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले सबै संस्कृति र परम्पराको जगेर्ना गर्नु सबैको दायित्व रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले धार्मिक मठमन्दिरको संरक्षण गर्नु तीनै तहको सरकारको साझा दायित्व भएको बताउनुभयो । उहाँले नेपालमा निर्माण हुने धार्मिक पूर्वाधारले स्वदेशीका साथै भारतीय पर्यटकलाई समेत आकर्षित गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो । धार्मिक पर्यटनको विकासले देशको आर्थिक समृद्धिमा टेवा पुग्ने उहँको विश्वास थियो ।
कार्यक्रममा श्री कृष्ण अनन्त प्रेम रथयात्रा निकालिएको थियो । ६ नम्बर वडाको विभिन्न क्षेत्र परिक्रमा गरिएको रथयात्रमा बाजागाजा, धार्मिक झाँकी र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो । श्रीकृष्ण प्रणामी मूलमिलावा धामका अध्यक्ष राजु नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का , पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, ६ नम्बर वडा अध्यक्ष विष्णु बहादुर दाहाल, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला लगायतको आतिथ्यता रहेको थियो ।














