भाषा ऐन निर्माण भइसकेपछि धेरै चुनौतीहरु देखापरेका छन्ः मुख्यमन्त्री लामा

संवाददाता
१० जेष्ठ २०८२, शुक्रबार १९:०९

९ जेठ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भाषा ऐन कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रदेशसभामा भाषा अनुवादक राखेर ऐन कार्यान्वयनको सुरुवात गरिएको उहाँले बताउनुभयो । पद्यमरत्न लुमन्ति गुथीको आयोजना एवम् संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा शुक्रबार हेटौँडामा भएको मातृभाषा नेपालभाषाको प्रयोग, प्रचार र प्रवद्र्धन विचार गोष्ठीमा बोल्नुहुँदै मुख्यमन्त्री लामाले विद्यालय स्तरमा पनि भाषा ऐनको कार्यान्वयन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भाषा ऐन निर्माण भइसकेपछि धेरै चुनौतीहरु देखापरेको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले प्रदेशभित्र सबै कार्यालय देखि स्थानीय तहहरुको लेटर प्याडमा नेपाल र तामाङ भाषा लेखिनुपर्ने निर्णय मन्त्रीपरिषद् बैठकबाटै गरिएको जानकारी दिनुभयो । भाषा ऐनको थप प्रभावकारी कार्यान्वयनको लागि भाषा विज्ञहरुसंग प्रदेश सरकारले छलफल गर्ने समेत उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले भाषाको कारण हुने समस्याहरुलाई केही हदसम्म ऐनले निवारण गरेको समेत जिकिर गर्नुभयो ।


यसैगरी गोष्ठीमा बोल्नुहुँदै श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले संघीयताले भाषिक हक र अधिकारलाई स्थापित गरेको बताउनुभयो । संघीयताकै कारण समाजमा नेपाल भाषा र तामाङ भाषाको प्रतिनिधित्व भएको उहाँको भनाई छ । मन्त्री महर्जनले भएगरेका कामहरुको उजागर हुन नसक्दा संघीयता माथि नै प्रश्न उठ्न थालेको जिकिर गर्नुभयो । संघीयतालाई थप मजबुत बनाउने गरी प्रदेश सरकारले काम गर्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा भाषाको प्रवद्र्धन र विकासमा उल्लेख्यीय योगदान गरेको भन्दै रुदहरी जोशी, अंगदप्रसाद श्रेष्ठ, महारत्न बज्राचार्य र विष्णुगोपाल महर्जनलाई सम्मान समेत गरिएको थियो । गोष्ठीमा रिसर्च स्कलर नरेशबीर शाक्यले मातृभाषाको प्रवद्र्धनमा पद्यमरत्न तुलाधारको देन, गोरखापत्रका तामाङ भाषा पेजका संयोजक अजीतमान तामाङले मातृभाषाको महत्व र ऐतिहासिक पक्ष एवम् संघीय भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले प्रदेश सरकारी कामकाजको भाषा ऐनको अवसर र चुनौती विषयक ३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
पद्यमरत्न लुमन्ति गुथीका अध्यक्ष डा.केशवमान शाक्यको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रालय सचिव दिपेन्द्र सुवेदी, गुथीका कोषाध्यक्ष सुरेश प्रधान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*